२०८१ चैत्र १३ गते बुधवार

मुख्य मन्त्रीले विद्यार्थीलाई के/के पढाए ? (भिडियो सहित)

पुष १७ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल कक्षा कोठामा प्रवेश गर्दा सेतो पाटी सफा थियो। उनले ९० मिनेट विद्यार्थी पढाएर फर्किँदा पनि त्यो त्यस्तै रह्यो।

मुख्य मन्त्री सोमबार विद्यालय समयमा गृहनगर तुलसीपुर उपमहानगरपालिका- ७ स्थित माध्यामिक विद्यालय कोलोखोलामा बिहानको पहिलो घन्टीमै कक्षा १० को ‘ए’ सेक्सनका विद्यार्थीलाई पढाउन कक्षा कोठामा प्रवेश गरेका थिए ।

कक्षा प्रवेश गरे लगतै मुख्यमन्त्रीले विद्यार्थीलाई कति जना विद्यार्थी हुनुहुन्छ भन्दै सोधे। सबै विद्यार्थी नआउनुको कारणबारे जिज्ञासा राखे।

त्यसपछि तपाईँहरूलाई सबैभन्दा बढी कुन विषय अप्ठेरो लाग्छ? भनेर सोधे। पहिलो घन्टीमा एकाउन्ट विषय त्यो कक्षामा पढाइ हुने जानकारी विद्यार्थीबाट थाहा पाएपछि मुख्यमन्त्रीले आफू पनि एकाउन्टको विद्यार्थी भएको बताए।

विद्यार्थीले अंग्रेजी, गणित र विज्ञान सबैभन्दा गाह्रो लाग्ने बताएपछि उनले एकाउन्ट पनि गाह्रो विषय भएको तर्क गरे। कक्षा कोठामा पढाउँदा मुख्यमन्त्री कुनै एउटा निश्चित विषय बस्तुमा केन्द्रित भएनन्।

एसईईको तयारी गरिरहेका त्यसपछि उनले विद्यार्थीलाई पढ्ने तरिकाबारे सिकाउन खोजे। घरमा रूटिन बनाएर पढ्न, गाह्रो लाग्ने विषय हरेक दिन बिहान उठ्ने वित्तिकै फ्रेस मुडमा एक घन्टा पढ्न सुझाए।

आफैं अभ्यास गर्दै आफैं मास्टर बन्ने विधिले पढ्न आग्रह गरे। केही साथीसँग साटासाट र छलफलको विधि अपनाएर पढ्न भने। उनले पढ्दा बोलेर पढ्न आग्रह गरे।

त्यसरी पढ्दा बुझिने मुख्यमन्त्रीको दाबी थिय। ‘नबोली पढ्नुभन्दा बोलेर पढ्दा बढी बुझिन्छ,त्यसैले तपाईँ बोलेर पढ्नु होला। यो एउटा नियम जस्तै हो,’ मुख्यमन्त्रीले भने।

उनले पढेकोभन्दा लेखेको ज्यादा बुझिने सिकाए। सिक्ने स्तरलाई बृद्धि गर्न आफूले लेखेको उत्तर दोस्रो व्यक्तिलाई हेर्न दिनुपर्ने कुरा पनि सुझाए। ‘मानिस आफैंले गरेको कमजोरी आफैं देख्दैन, मानिस आफ्नो कमजोरी थाहाँ नपाएरै कमजोर हुन्छ,’ मुख्यमन्त्रीले पढाउँदा भने, ‘कमजोरी पत्ता लगाउने र जिज्ञासा पैदा गर्नु नै सिकाई हो।’

उनले त्यो कुरा राजनीतिलगायत सबै ठाउँमा लागू हुने बताए।

मुख्यमन्त्रीले परीक्षालाई अत्यन्तै हल्का ढंगले लिन तथा परीक्षा भन्दैमा नआत्तिन सल्लाह दिए। ‘एउटा परीक्षा बिग्रदैमा जीवन विग्रने होइन। सफलता र असफलता दुबै ठूला शिकाई हुन्,’ पोखरेलले भने।

पोखरेलले तनावबाट मुक्त भएमा मात्रै सफलता प्राप्त हुने बताए। ‘सक्छु र सक्दिनँ भन्नेका बिचमा ठूलो दुरी हुँदैन,’ मुख्यमन्त्रीले थपे, ‘जसले सक्छु भन्छ उसले अवस्य सफलता प्राप्त गर्छ।’

सबैभन्दा पहिला ढुक्क भएको प्रश्नहरु हल गर्न सल्लाह दिएका मुख्यमन्त्री पोखरेलले जान्नेबाट क्रमशः अप्ठेरोमा प्रवेश गर्दा हरेक कुरा समाधान गर्न सहज हुने बताए।

सुरूमै तनावको अवस्थामा प्रवेश गर्दा जहाँ पनि सबै थोक विग्रने उनको सल्लाह छ। पढाई आफ्ना लागि मात्रै नभइ समाजको लागिसमेत हुनुपर्ने बताएका मुख्य मन्त्री पोखरेलले विद्यालयको नाम राख्ने अभियान्त बन्न विद्यार्थीलाई सुझाए। ‘आई क्यान डू’ भन्ने सोचका साथ अगाडि बढ्न प्रेरणा दिएका उनले सुत्ने कोठमा एक/दुई दिनमै पढ्ने रुटिन बनाएर टाँग्न विद्यार्थीलाई आग्रह गरेका थिए।

९० मिनेट पढाउँदा मुख्य मन्त्रीले बोलेको अंग्रेजी शब्द ‘आई क्यान डू’ मात्रै थियो।

नियमित पढाईले मात्रै मानिसको जीवन सफल नहुने तर्क गरेका मुख्यमन्त्रीले परीक्षा र परिणाममा मात्रै ध्यान दिनु भन्दा आफू भित्रको अन्य विशिष्ट गुण पहिचान गरेर अगाडि बढ्न आग्रह गरे। ‘सबै मान्छे हेर्दा उस्तै उस्तै छौं, तर हामी सबै केही न केही फरक अवस्य छौं,’ पोखरेलले भने, ‘त्यही फरक विशेषता प्रयोग गरे सफलता मिल्ने हो।’

त्यस्तै उनले जैविक हिसावले (लिङ्ग) का आधारमा मानिस फरक भए पनि सामाजिक हिसावले पनि फरक बनाउँदा दरार पैदा भएको तर्क गरे।

उनले समाजकै कारण केटालाई आँटिलो र सुरो तथा केटीलाई कमजोर देखाउने समाजिक पर्खाल भत्काउनुपर्ने बताए। केटालाई दुस्साहासी र महिलालाई कमजोर देखाउँदा समाजमा महिलामाथि अत्याचार बढेको उनले बताए।

सुरूमा महिला नै घरको मुलि हुने अवस्था रहे पनि पुरुषले विस्तारै महिलाको भूमिका लिएको बताएका उनले पितृसत्तात्मक सोच र सामन्तवादी सोचका कारण त्यस्तो भएको दाबी गरे। तर, अब गणतन्त्रको युगमा प्रवेश गरेको हुँदा अबको युगको बाटो दुबैलाई बराबरी बनाउने खालको हुने मुख्य मन्त्रीले बताए। त्यसको नेतृत्व विद्यार्थीले गर्नुपर्ने उनको भनाइ थियो। ‘नयाँ सामाजिक मनोविज्ञान निर्माण गर्न आवश्यक छ। सबै प्रकारका विभेद अन्त्य गरिनुपर्छ। छुवाछुत प्रथा अन्त्य हुन आवश्यक छ,’ मुख्य मन्त्रीले भने।

संविधानले छुवाछुतलाई दण्डनिय अपराध मानेपनि पुरानो पुस्ताले अझैं त्यो मान्न अस्विकार गरेको हुँदा त्यो सोच बदल्न विद्यार्थीले भूमिका खेल्नुपर्ने बताए । ‘कानुनी रुपमा सबैलाई समान बनाउन सजिलो छ, तर सामाजिक रुपमा सबैलाई समान बनाउन अप्ठेरो रहेछ,’ मुख्य मन्त्रीले भने। जात जाति बीचको विभेद र असमानता अन्त्य गर्न विद्यार्थीहरू अग्रसर बन्नैपर्ने उनको धारणा थियो।

उनले निजी विद्यालयको शिक्षा र सामुदायिक विद्यालयको शिक्षाले वर्ग जन्मिएको उल्लेख गर्दै शिक्षामा समानताको खोजी आवश्यक रहेको बताए । त्यस्तै उनले जति पनि आज देशमा ठूला मानिसहरु छन् ती सबै सामुदायिक विद्यालयमै पढेर आएको हुँदा व्यवस्थापन पक्ष राम्रो बनाउन सक्ने हो भने सामुदायिक विद्यालय भौतिक पूर्वाधार र जग्गाले निजी विद्यालय भन्दा अब्बल रहेको स्पष्ट पारे।

गणतन्त्रको प्राप्तीपछि सामाजिक न्याय थपेको हुँदा पढेर रोजगारी पाइदैन भन्ने चिन्ता नलिन उनले आग्रह गरे। ‘हरेक व्यक्तिले काम पाउने ग्यारेन्टी गरिन्छ र त्यो नसके बेरोजगारलाई भत्ता दिने काननु बनाउँछौं,’ मुख्य मन्त्रीले विद्यार्थी पढाउँदा भनेका थिए।

त्यसैको लागि तीन तहको सरकार निर्माण गरिएको उनको भनाइ थियो । विद्यार्थी पढाउँदा विभिन्न विषय बस्तुमा प्रवेश गरेका मुख्य मन्त्री पोखरेलले भूगोल र भूकम्पको कुरा गर्न पनि छुटाएनन्।

सगरमाथा पहिले समुन्द्र भए जस्तै दाङपनि कुनै दिन ठूलो तलाउ रहेको र पृथ्बीको हलचल (भूकम्प)ले गर्दा हाल उपत्यका बनेको बताए । दाङमा ३/४ सय वर्षदेखि ठूलो भूकम्प नआएको प्रशंग उल्लेख गर्दै उनले जति लामो समय ग्याप हुन्छ त्यति नै ठूलो भूइचालो आउने खतरा रहने भन्दै विद्यार्थीमा डर पैदा गराएका थिए। तर, उनले त्यसवाट बच्ने उपाए समेत सुझाएका थिए।

भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न र पूर्वतयारीको क्षमता विकासमा लाग्न विद्यार्थीलाई आग्रह गरे । त्यस्तै उनले पुस ६ गते दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटना र त्यसमा परि २३ जनाको मृत्यु भएको प्रशंग पनि विद्यार्थीलाई भन्न छुटाएनन्। ‘त्यो दुर्घटना हेलचेक्याँईले गर्दा भएको हो र तपाँईहरु पिकनिक जाँदा पनि त्यस्तो हेलचेक्याँई कहिलै नगर्नुहोला,’ मुख्यमन्त्रीले सचेत तुल्याउन खोजे।

उनले पिकनिक जाँदा बाहिरी रूपमा बस र पैंशाको मात्रै बार्गेनिङ हुने गरेको भन्दै चालक र अन्य स्टाफको अवस्थाको बारेमा समेत ख्याल गर्न आवश्यक रहेको बताए।

उनले आर्जन गरेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने हो भने सफलता प्राप्त हुने बताए । उनले सिटीईभिटीबाट व्यवसायिक शिक्षामा जोड दिने प्रदेश सरकारको लक्ष्य पनि प्रस्तुत गरेका थिए ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *