दाङ, भदौ ३१ । अझैं तीन दिन नेपालको अधिकांश स्थानमा बर्षा हुने भएको छ । बिहीबार लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बिज्ञानले जानकारी दिएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।
न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना औंलाइएको छ ।
नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन झन्डै तीन दिनसम्म सक्रिय रहने अनुमान गरिएको छ ।