तुलसीपुर,भदौ ३० । राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा नागरिक आरोग्यशाला सञ्चालनमा आएको छ ।
बुधबार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले नागरिक आरोग्यशालाको उद्घाटन गरेका हुन् ।
उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले तुलसीपुरलाई हेल्थसिटीका रुपमा विकास गर्नुपर्ने बताए ।
उनले पछिल्लो समय तुलसीपुर क्षेत्रमा स्वास्थ्यले फट्को मारेको भन्दै बिजौरीलाई आयुर्वेद चिकित्सालयको हबका रुपमा विकास गर्ने बताए । सो अवसरमा उनले फार्मेशी सेवाको पनि उद्दघाटन गरेका हुन ।
नागरिक आरोग्यशाला बिहीबार बिहान देखि आम नागरिकहरुका लागि खुल्ला गरिने भएको छ । नागरिक आरोग्यशालाको रेखदेख बिजौरी उद्योग वाणिज्य संघले गर्ने भएको छ ।
१७ वटा विभिन्न किसिमका व्याम गर्ने सामाग्री राखिएको उक्त आरोग्यशालामा एक पटकमा २३ जनाले व्याम गर्न सक्ने अस्पतालका निमित्त निर्देशक डा. महेश खनालले जानकारी दिए ।
आरोग्यशालामा बिहान ६ बजे देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म १५ बर्ष माथीका आम नागरिकहरुले व्याम गर्न सक्ने छन् ।
संघ सरकारको १४ लाख सहयोग र तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को २ लाख सहयोग गरी जम्मा १६ लाखमा नागरिक आरोग्यशाला संचालनमा आएको अस्पतालले जनाएको छ ।
१० लाखमा व्याम गर्ने सामानहरु खरिद गरेर बाँकी ६ लाखमा अरोग्यशालाको चारै तिर तारजली लगाउने, मार्वल बिच्छाउने लगायतको काम भएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको कायृक्रममा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ का वडाध्यक्ष माधव वली, टोपेन्द्र केसी, राम बहादुर दहित, नेपाल पत्रकार महासघं दाङका सदस्य अञ्जना चौधरी, लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
अस्पतालका निमित्त निर्देशक महेश खनालले स्वागत गरेको कार्यक्रमको सहजीकरण लालकृष्ण डाँगीले गरेका थिए ।