२०८१ असोज २४ गते बिहिवार

रामचन्द्र पाैडेलकाे आराेप : देउवाले सत्ता र शक्तिकाे दुरुपयाेग गरेर पार्टी कब्जा गर्न खाेजे

सिन्धुपाल्चोक,भदौ २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी समेत दिए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्तालाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

नेता पौडेलले पार्टीको आउँदो महाधिवेशनमा नेतृत्व रूपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सकिने उनको बुझाइ छ ।

उनले भने, ‘वडा अधिवेशन भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौँ । हामी त्यसको विरुद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन ।

नेपाली काँग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम भएको छ । हामी त्यसको विरोध गर्न चाहन्छौँ । यस किसिमले देशैभरि पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस गर्न खोजिएको छ । त्यो दुस्साहस हो । हामी हुन दिँदैनौँ । नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन दिँदैनौँ ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाए । उनले पार्टीको आउँदो महाधिवेशनबाट सही नेतृत्व चयन गर्ने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

 

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *