२०७८ असोज ८ गते शुक्रवार

कस्तो उदेग लाग्दो कुरा, स्कुल चलाउ, तर, स्कुल बस नचलाउ रे ?

तुलसीपुर, भदौ २७ । तुलसीपुरका स्कुलहरु सोमवारदेखि खुल्ने भएका छन् । लामो समयमो अन्तराल पछि बिद्यार्थीलाई भौतिक रुपमा कक्षामा उस्थित गराएर पठनपाठन सुरु गर्न लागिएको छ ।

तुलसीपर नगर शिक्षा शाखाले जारी गरेको सार्वजनिक सूचनामा सोही कुरा उल्लेख छ । तर, त्यो सूचनामा कस्तो उदेग लाग्दो अर्थात अमिल्दो लाग्ने छ भने स्कूल बिद्यार्थीको भौतिक उपस्थितिमै चलाउन भनिएपछि बिद्यालय बस भने चलाउन नपाइने सूचनामा उल्लेख छ ।

स्कूल बस चलाउंदा कोरोना भाइरस संक्रमनको बढी जोखिमको खतरा औंल्याइएको छ । विद्यालयहरु बिद्यार्थीको भौतिक उपस्थितिमा चलाउँदा कोरोना महामारीको त्रास नहरने, तर बस चलाउँदा बढी जोखिम कसरी हुन्छ ? यो अबैज्ञानिक, मनोगत र अपरिपक्व निर्णय हो, कि हैन ?

कस्तो अचम्म लाग्ने कुरा है, न विधि, न विधान । हावादारी शैलिमा स्कूल भौतिक रुपमा चलाउने अरे ? अनि त्यसमा बढीमा १५ जना विद्यार्थी एउटा कोठामा राख्ने अरे । दिनमा तीन सिफ्ट गराएर पढाउने अरे । विद्यालयका स्कुल बस भने नचलाउने रे !

दुधरासका एक जना अभिभावकले चियापशलमा भनिरहेका थिए, ‘यो तुलसीपुर शिक्षा शाखाको कस्तो झल्लो निर्णय हो ?’

ती अभिभावकका छोरा तुलसीपुरको एउटा नाम चलेको निजी विद्यालयमा पढ्ने गर्छन् । स्कूल बस मार्फत आवत जावत गर्थे ।
बसको सुविधा भएको र पढाइमा पनि फरक पन भएको अपेक्षासहित आँफुले छोरालाई नजिकैको वोर्डिङबाट छुटाएर तुलसीपुरमा पढाउन पठाएको बताए ।

तर, तुलसीपुर शिक्षा शाखाको निर्णयले ती अभिभावक यतिखेर अलमलमा परेका छन् । सायद सोमवार उनका छोरा जस्तै दर्जनौ विद्यार्थिहरु स्कुल बसमा होइन, सार्वजनिक खचाखच भरिएको बसमा यात्रा गरी तुलसीपुरको विद्यालय पुग्ने छन् ।
जसरी पनि उनले छोरालाई बिद्यालय पठाउन चाहान्छन् । के अब सार्वजनिक बसमा चढ्दा कोरोना सर्दैन ?

ती अभिभावकले आफ्नो निजी सवारीसाधन नरहेको हुँदा ठूलो अन्यौंलमा परेको बताए । त्यसैले सार्वजनिक बसको यात्रानै अब अन्तिम विकल्प बनाउन खोजिएको हो ? उनको प्रश्न थियो ।

उनी थप टेम्परमा थिए । कम्तिमा स्कुल बसमा जान पाएको भए त अलिक सुरक्षित यात्रा हुन्थ्यो कि ? सस्तो पथ्र्यौ कि ?
‘सार्वजनिक बसमा त काठमाडौं, पोखरा वा विराटनगरबाट आएको यात्रु पनि हुन सक्छ,’ उनले प्रश्न गरे ‘भारतको लखनौबाट आएको यात्रुपनि हुन सक्छ । त्यसमा संक्रमित हुँदैनन् भन्ने के आधार छ ?’

तर, स्कुल बस चलेको भए त सवै चिनजानकै समुदायका वालवालिका हुन्थे नि ? त्यसैले तुलसीपुर शिक्षा शाखाले किन, यस्तो उदेग लाग्दो निर्णय गरेको होला ? ती अभिभावकले चिन्ता र आक्रोश एकैसाथ ब्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भने स्मार्ट लकडाउनको सूचकका आधारमा विद्यालय सञचालन गर्न मिल्ने अवस्थामा स्कूल बस नचलाउने निर्णय जिल्लाको डिसिएमसीले गर्नै नसक्ने तर्क गरे ।

पक्कै हो, प्रजिअले स्मार्ट लकडाउनको सुचक अनुसार भौतिक उपस्थिमा विद्यालय सञ्चालन गर्ने तयारी भएको अवस्थामा स्कूल बस चलाउंदा थप सुरक्षित हुन सक्ने सुझाव दिए । प्रजिअ कुरुम्वाङले यो विषयमा पालिकाले खास निर्णय गरेको हुँदा त्यहीकै मेयरसंग यो बारे सोध्न आग्रह गरे ।

उनको जबाफले मन अलि शान्त भयो । सायद गलत सूचना पाएका होलान, निजी विद्यालयहरुले । मैले शिक्षा शाखाका प्रमुख चक्र भण्डारीलाई फोन गरे । स्कुल बस नचलाउनुको कारण जान्न खोजे । तर, चक्रले त्यही कुरा भने – ‘हो स्कुल बस चलाउँदा बढी भिडभाड हुन्छ । बढी जोखिम हुन्छ । एक तिहाइ वा एउटा कक्षा कोठामा १५ जना सम्म विद्यार्थी मात्रै राखेर तीन सिफ्टमा कक्षा चलाउने निर्णय भएको छ ।’

के यो संभव छ ? दूई हजार विद्यार्थी भएका विद्यालयमा के एउटा कक्षामा १५ जना विद्यार्थी राखेर सिफ्टवाइज कक्षा चलाउन संभव छ ?
अनि चक्र नजबाफ भए । कुरा घुमाउन थाले । र भने – ‘कृपया तँपाईपनि जिम्मेवार अभिभावक हो भने यो कोरोनाको महामारीमा आफ्नो बच्चालाई जोगाउन घरमा सवारीसाधन छैनन् भने अटोमै व्यवस्था गरेर विद्यार्थी स्कूलमा पठाउन सक्नुहुन्छ ।’ म चक्रको कुराले वाक्क भए ।

बल्लतल्ल बोर्डिङ पठाउने हामीजस्ता नागरिकले दुधरासबाट तुलसीपुर दैनिक रुपमा कसरी अटोमा विद्यार्थी पठाउन सकिन्छ ? सायद चक्र सरलाई थाहा छैन होला, यसरी अटोमा विद्यालय आउजाउ गर्दा दैनिक १ हजार ५ सय रुपैंयासम्म अटो भाडा लाग्न सक्छ ।
चक्र सरले आफ्नै जिद्दी लादिरहे । आफ्नै शाखाको निर्णयको पक्षपोषण मात्रै गरे । मलाई उनको कुराले रिंगाटा लागेजस्तै भयो ।
विद्यार्थीहरुले अनलाइनका नाममा मोवाइलमा गेम खेल्दै र टिकटक हेर्दै खेर गइसकेको हुँदा दूई शैक्षिक सत्र पुरै निरर्थक बनिसक्दा यस्ता धेरै चक्र सरहरु गम्भीर हुन नसकेको भान भयो ।

शिक्षा मन्त्रालयका चक्रसरहरु, प्रदेश शिक्षा मन्त्रालयका चक्रसरहरु अनि स्थानीय पालिकाका चक्रहरु…।
हम्रा चक्र सरले यो त आँखैले देखिरहेको हुनुपर्छ नि, कि, अहिले विद्यालय मात्र बन्द छन्, त्यो बाहेक सवथोक खुली सकेको छ । चक्र सरले अध्ययन गरेको तुलसीपुर भित्रको स्मार्ट लकडाउनका सूचकहरु अहिले कतिले पालना गरेका छन् ?

रेड जोन, एलो जोन, ग्रिन जोन… ह्वाइह्यात वात ।

चक्रसर के तपाँईले नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको सुचकहरुको पनि गहिरो अध्ययन गर्नु भएको छ ?
तुलसीपुरमा पछिल्लो साता कति जना नयाँ कोरोनाका संक्रमित भेटिए ? कति सक्रिय संक्रमित छन् ? संक्रमणको दर कस्तो देखियो ? मृत्युदर कस्तो छ ? हस्पिटल अक्यूपेसीको अवस्था कस्तो छ ?

त्यसैका आधारमा निर्णय गर्नु पर्दथ्यो । अव हाम्रा पालिकाका स्कूलहरु एक तिहाई विद्यार्थी राखेर चल्न सक्छन् वा पचास प्रतिसत वा सत प्रतिसत रुपमा विद्यार्थी राखेर विद्यालय सञ्चालन गर्ने भन्ने कुरा ।

सत्या कुरा के हो भने ग्रामिण भेगका बिद्यार्थीका लागि सिक्दा सिक्दै र इन्टरनेट जोड्ने प्रयास गर्दागर्दै दूई वटा शैक्षिक सत्र पुरै खेर गैरहेको तिथो सत्य हो ।

इन्टरनेट चलाउन विद्युत सेवा नियमित हुनुपर्यो, तर विद्युत सेवा जहिल्यैपनि झ्याप्प झ्याप्प । डाटा र इन्भर्टर छोराछोरी पढाउनका लागि मात्रै जोड्न आर्थिक अवस्थाका कारण संभव छैन । यो अवस्थाले बैकल्पिक शिक्षा उति प्रभावकारी बन्न नसकेको सत्य हो ।
त्यसैले त भन्न मन लाग्छ , कोरोना भाइरसका कारण सवैभन्दा बढी क्षति भएको छ भने शिक्षा क्षेत्रमै भएको छ ।

विकाश निर्माण त अर्को शाल पनि गर्न सकिन्छ । तर, एउटा नानीको भबिस्य आज बर्बाद भयो भने देश नै बर्बाद हुन सक्छ । कि, हैन र ? उही कोर्ष अर्को शाल पढ्छु भन्दा हरेक नागरिकको उमेर एक बर्ष कम भइसकेको हुन्छ । दुइ शैक्षिक सत्र खेर गैसकेको अवस्थामा यसलाई उकास्न अव के गर्न सकिन्छ ? भनेर सोच्नुको साटो अझै पनि खुट्टा कमाएको वाहना गरेर विद्यालय खोल्न अवरोध गर्दै जानु म उपयुक्त ठान्दिन ।

आमसभा, सेमीनार, गोष्ठी , होटल रेष्टुरेन्ट, सिनेमा हल, सार्वजनिक बस, हवाइ सेवा, धार्मिक अनुष्ठानहरु सवै खुलिसकेको अवस्थामा ती हरेक कार्यक्रममा एक न एक हिस्सा विद्यार्थीले अवस्थपनि ओगटेकै छन् । फुर्सद छ नि, हैन । युवा जिज्ञाशु मन कसरी घर भित्र थुनि सक्छ ?

नभए त्यहाँ अभिभावक त पक्कै पुगेकै छन् । के यसरी अभिभावकबाट सर्न सक्दैन कोरोना ? हो, चक्र सर तपाँइको कुनै सकारात्मक सोच र शिक्षालाइ प्रभावकारी बनाउने सोच छ भने पालिका भरीका उमेर पुगेका विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्थापन गर्न पहल गर्नुहोस ।

स्वास्थ्य सचेतनाका विषयमा स्कूलहरुमा अभियान चलाउनुस् । तर, कृपया स्कुल बस नचलाउन निर्देशन दिएर विद्यार्थी सार्वजनिक बसमा स्कूल पुग्न बाध्य नपार्नुहोस । यो तपाँइहरुको निर्णयमा तत्काल पुर्नविचार गर्नुहोस् ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *