काठमाण्डौ,साउन ३२ । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् ।
यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड छ । अधिकांश मन्दिरहरु बन्द हुँदा श्रद्धालु भक्तजनले घर–घरमै पूजा गरी मनाउँदैछन् ।
आजका दिन विगतका वर्षमा शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्थ्यो । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।
साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।
साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।