काठमाडौं,साउन २६ । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो ।
गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो ।
मन्त्रालय स्रोतकाअनुसार असार १ गते आएको बाढीपछि समस्याग्रस्त भएको आयोजनालाई पुनर्स्थापनाको कार्यायोजना तयार गर्दैगर्दा श्रेष्ठको सरुवा भएको हो । स्रोतका अनुसार सरकारले सरूवाको प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो असहमति नहुने बताएका थिए ।
मन्त्रालयले आयोजनामा नयाँ प्रमुख पठाउन छलफल थालेको छ । अहिलेसम्म खानेपानी मन्त्रीको जिम्मा प्रधानमन्त्री स्वयमले लिएकाले सचिव प्रमिलादेवी बज्राचार्यले प्रधनमन्त्रीसँग नै मंगलबार छलफल गर्दैछिन् ।
मन्त्रालयका एक अधिकारी अब आयोजनाबारे राम्रो जानकारी राख्ने सहसचिवलाई कार्यकारी प्रमुखका रुपमा खटाउनुपर्ने बताउँछन् ।
यसअघिका कार्यकारी निर्देशक श्रेष्ठ भने आयोजनाका लागि नयाँ थिए । सकिन लागेको आयोजना भएकाले वरिष्ठ सहसचिवहरुले रुची नगरेपछि श्रेष्ठलाई नै मेलम्चीमा पठाइएको थियो ।
