तुलसीपुर,साउन १६ । नेपाल पत्रकार महासंघ दाङ शाखाको महिला विभागको पहिलो बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
विभागका संयोजक वसुन्धरा गौतमको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले जिल्लामा रहेका क्रियाशिल पत्रकार महिलाहरुलाई नियुक्ति पत्र लिएर काम गर्न प्रेरित गर्ने,महासंघको सबै कार्यक्रम लैगिक मैत्री बनाउन पहल गर्ने, लेखन वृद्धिमा महिला सहभागिता बढाउने,स्थानिय सरकार तथा सरोकारवाला संघ संस्थाहरुसंग महिला विभागले कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले आउँदै गरेको हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र महिला पत्रकारहरुसँग नियमित छलफल गर्ने निर्णय पनि गरेको छ ।
कार्यक्रम बोल्दै प्रमुख अथिति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्यले सञ्चार माध्यममा महिलाहरुको शसक्तिकरणका लागि प्रदेशको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्दता जनाइन् ।
त्यस्तै पत्रकार महासंघ दाङका सल्हाकार लक्ष्मी आचार्यले महिला विभागले हरेक गतिविधिमा महिला सहभागितालाई अनिवार्य गराउदै सम्बेदनशिल भएर काम गर्नु पर्नेमा जोड दिइन् ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतमले पत्रकार महिलाहरुको आर्थिक सशक्तीकरणका लागि विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी उनीहरुको न्यूनतम पारिश्रमिक र प्राविधिक ज्ञान बढाउन आवश्यक रहेको औँल्याइन ।
महासघ दाङका निवर्तमान उपाध्यक्ष लिला शाहले विभागले महिलाका मुद्दाहरुको समाधानका लागि छलफल गरी महिलाहरुको मुद्दालाई साझा मुद्दा बनाउनु पर्ने धारणा राखिन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य पार्वती बस्नेत,सञ्चारिका समुह लुम्बिनी प्रदेश सदस्य रञ्जिता शर्मा,डब्लु डब्लु जे दाङका पूर्व उपाध्यक्ष रिता लामा,पत्रकार सविता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण महिला विभाग दाङका सचिव दिप्तिशिखा चौधरीले गरेकी थिइन्।