काठमाडौं,साउन ६ । विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रवन्ध सञ्चालक (कार्यकारी प्रमुख) अनन्तराज घिमिरेलाई प्रवन्ध सञ्चालकका रुपमा काम गर्न रोक लगाएको छ ।
मंगलबार बसेको कम्पीको सञ्चालक समिति बैठकले मध्यपश्चिम विश्वविद्यालयबाट आएको पत्रबारे स्पष्ट गर्न घिमिरेलाई १५ दिनको समय दिएको छ ।
सो अवधिसम्म घिमिरेलाई कार्यकारी प्रमुखको हैसियतमा गर्ने काम गर्न रोक लगाइएको कम्पनी स्रोतले जनाएको छ ।
घिमिरेले दोहोरो सुविधा उपभोग गरेको देखिएको भन्दै विश्वविद्यालयले ऊर्जा सचिवलाई पत्र लेखेर नियुक्ति सम्बन्धमा आधिकारिक जानकारी गराइदिन भनेको थियो ।
मध्यपश्चिम विश्वविद्यालयबाट अध्ययन विदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनीमा राजनीतिक नियुक्ति लिएको समाचार सार्वजनिक भएपछि घिमिरे निलम्बनमा परेका हुन् ।
अन्य विश्वविद्यालयबाट पनि विदा लिएर अन्यत्र जागिर खाइरहेका केही प्राध्यापकहरुको उदाहरण प्रस्तुत गर्दै घिमिरेले आफू योग्य भएको दावी सञ्चालक समितिमा पेश गरेका छन् ।
तर, सञ्चालकहरुले भने मध्यपश्चिम विश्वविद्यालयको नीति र घिमिरेले लिइरहेको हुनसक्ने सुविधाबारे चासो राखेपछि अर्को निर्णय नभएसम्म घिमिरेले प्रवन्ध सञ्चालकका हैसियतमा काम गर्न नपाउने गरी निर्णय भएको छ ।
ऊर्जा मन्त्रालय स्रोत भने घिमिरेले राजनीतिक शक्तिका आडमा सञ्चालक समितिलाई पनि दबावमा पारिसकेको बताउँछ ।