
लमही, साउन ५ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले लमहीमा एकजना बिपन्न ब्यक्तिको घर निर्माण गर्न थालेको छ ।जिल्ला समितिको नेतृत्वमा लमही नगरपालिका वडा नं. ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी वस्तिमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण गर्न थालिएको छ ।
चौधरीको घर निर्माण गर्नका लागि शिलान्यास गर्न पुगेका नेकपा दाङका बिशेष कमिटी सदस्य विक्रमले समाजलाई सामुहिक चेतनाको बिकास गर्दै बैज्ञानिक समाजवादी मोडेल अनुसार पार्टीले जनताका घर÷टहरा निर्माण गर्ने अभियान गर्दै आएको बताए ।
बैज्ञानिक समाजवादी राज्यव्यवस्थामा जनताको ,गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी हुने बिक्रमले दाबी गरे ।नेता बिक्रमले संसदीय व्यवस्थाको चुनावमा आफ्नो पार्टीले भाग नलिने बताए ।जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने निर्वाचनमा भने भाग लिन तयार रहेको उनले जानकारी दिए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले आफुहरु नयाँ ढंगले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अवलम्बन गर्दै बैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढ रहेको धारणा व्यक्त गरे। उनले बिगतमा आफुहरुले संचालन गरेको क्रान्तिबाट अत्तालिएर दलाल सरकारले प्रतिबन्ध लगाएको बताए ।
नेता प्रदिपले आफुहरुले प्रचण्डले जस्तो झुक्याएर राजनीति नगर्ने बताए।घरको शिलान्यास निर्माण स्थलमा इट्टा राखेर कार्यक्रमका प्रमुख अतिथि बिक्रमले निर्माण कार्यको थालनी गरेका थिए ।
चौधरीको घर जिर्ण अवस्थामा रहेको हुँदा बिप्लव पार्टीले नयाँ घर निर्माण गर्न सुरु गरिएको जनाएको छ ।तर, कति समय भित्र, कति लागतमा र कस्तो घर निर्माण गर्ने रु बारेमा उक्त पार्टीले कुनै सूचना दिएको छैन ।
