
तुलसीपुर, असार २६ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातिय विभेद विरुद्धको अब नयाँ ढंगबाट अघि बढ्ने बताएका छन ।
राष्ट्रिय दलित पत्रकार संघ दाङको आयोजनामा शनिबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
यसका लागि दश र पञ्च बर्षीय योजना बनाएर आयोग अघि बढेको उनले जानकारी दिए ।
पछिल्लो समय देशका विभिन्न स्थानमा दलित समुदाय माथि भएका बिभेदका घटनाले थप गम्भीर बनाएको भन्दै विश्कर्माले गैर दलितको सहभागीतामा अभियान अघि बढाउने बताए ।
आयोगले विभिन्न संयन्त्रहरु संग समन्वय र सहकार्य गरी जातिय विभेद विरुद्धका जनचेतनामुलक अभियान संचालन गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
विभेद अन्त्यका लागि कक्षा ८ देखि स्नातक तहसम्मका विद्यार्थीलाई स्वंयमसेवकका रुपमा परिचालन गर्ने योजना बनाएको बिश्वकर्माको तर्क छ ।
विद्यालय स्तरमा पाठ्यक्रम निर्माणमा पनि आफूहरु सक्रिय रहेको उनले बताए ।
उनले पशुपति क्षेत्रमा दलितका लागि समेत पूजा गर्ने व्यबस्था गर्ने र त्यसबाट धार्मिक रुपले विभेद अन्त्य हुने बिश्वास ब्यक्त गरे ।
त्यसबारे पशुपति विकास कोषसंग छलफल भइरहेको उनले बताए ।
संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण सचिब अर्जुन परियारले गरेका थिए ।