काठमाण्डौ,असार २२ । नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक सिंहदरबारमा दिउँसो एक बजे बस्ने तयारी छ ।
एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
कार्यदलमा रहेका दुवै समूहका नेताहरुले एमालेको पार्टी एकताका लागि छलफल गर्दै आएका छन् । यसअघि हिजो कार्यदललाई ब्युँताउँदै औपचारिक बैठक बसेको थियो । बैठकमा छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
एमाले उपाध्यक्ष एवं कार्यदलका सदस्य भीम रावलले पार्टी एकता कायम राख्न सबैले प्रयास गर्ने र बैठकलाई निरन्तरता दिने सहमति भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका २३ सदस्यलाई हिजो बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि हस्ताक्षर फिर्ता भएको छैन ।
गएको जेठ २ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबाट पाँच/पाँच जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो ।
दश सदस्यीय कार्यदलमा एमालेको ओली समूहका सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन ।