जुम्ला,असार ५ । हिमा गाउँपालिकाका १६ घर पहिरोको जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका ६ को खलढुङ्गा, –डाँडाबाँडा र अर्को एक गाउँका गरी १६ घर पहिरोको जोखिममा परेका हुन् ।
पहिरोको जोखिममा रहेका १६ घरका ११७ जनालाई आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ ।
स्थानीय सूर्य अधिकारीका अनुसार लगातारको वर्षाका कारण बारी र घरहरु भत्किन थालेपछि उनीहरु विस्थापित भएका हु्न् । बस्तीलाई एक वर्ष अगावै दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सानुपर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बस्तीका मानिसलाई तत्कालका लागि सुरक्षित ठाउँमा सारिएको जानकारी दिए । तर बस्ती पहिरोको जोखिममा रहेकाले दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सार्नुपर्ने आवश्यक रहेको उनले बताए ।
अध्यक्ष शाहीका अनुसार गएको वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले बस्ती सार्ने निर्णय गरी सघन सहरी सङ्घीय आयोजनाबाट केन्द्रमा पठाइएको थियो ।
उनले सरोकारवाला निकायहरुलाई स्थलगत अनुगमनका लागि अनुरोध गरेका छन ।