२०८३ असार २७ गते शनिवार

डाक्टर र नर्समाथि आक्रमण गर्नेहरु बिरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

दाङ, जेठ १४ ।भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरु विरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा डाक्टर र नर्सहरुमा माथि कुटपिट गर्नेहरू विरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको जानकारी दिए ।

प्रहरीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई डाक्टर र नर्सहरुमाथि कुटपिट गरेको अभियोगमा बिहीबार राति नै पक्राउ गरेको थियो ।

‘ अस्पताल भित्र पसेर डाक्टर र नर्स कुट्नेहरुलाई प्रहरीले राति नै पक्राउ गरेको थियो,’ एसपी रानाले भने ‘ कुटपिट गर्नेहरू तीनै जनाविरूद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।’

उनीहरूका विरूद्ध भेरी अस्पताल प्रशासन तथा पीडित डाक्टर नर्स लगायतले जाहेरी दिएको हुँदा त्यसैको आधारमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको एसपी रानाले जानकारी दिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५२ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।

मृतक रावत कोरोना संक्रमन पुष्टि भएपछि जेठ ४ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।

उपचार रावतको स्वास्थ्यमा खराबी आएपछि बिहीबार बेलुकी ८ बजेतिर मृत्यु भएको थियो।

उनको मृत्यु भए लगतै केही मानिसहरु अस्पताल प्रवेश गरि डाक्टर तथा नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेका थिए।

जसको तौतर्फी आलोचना भएको छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरले लगाएतले आफन्तको मृत्यु पछि अस्पतालमा डाक्टर र नर्सहरुमाथि कुटपिट गर्नु जघन्य अपराध भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

घटनाको अनुसन्धान गर्न बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति समेत गठन भएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *