शिवराज खनाल, लमही, जेठ ६ ।देउखुरीमा हाइब्रिड भन्दै प्रतिबन्धित धानको बीउको कारोबार भइरहेको पाइएको छ ।
धानको ब्याड राख्ने चटारोमा रहेका देउखुरीका किसानले आफुहरुलाई झुक्याएर एग्रोभेट सञ्चालकहरुले प्रतिबन्धित धानके बिउ बिक्रि गरिहेको भन्दै चिन्ता जाहेर गरेका छन् ।
लमही नगरपालिका ६ का दुधराज चौधरीले धानको बीउ लमहीको दर्शन एग्रोभेटमा हाइब्रिड धानको बिउ मागेपनि एग्रोभेटका सञ्चालकले गोरखनाथ ५०९ जातको धान दिएर आफुलाई झुक्याएको आरोप लगाए ।
बिल मागे पछि सञ्चालकले धानको जात नखुलाई हाइब्रिड मात्रै लेखेर झुक्याएको चौधरीले बताए ।
एग्रोभेटका सञ्चालक शिवराज न्यौपाने भने गोरखनाथ ५०९ धानकै बिउ भनेर आफुले बिक्रि गरेको र किसानलाई नझुक्याएको दाबी गरे ।
लमही ४ भैंसकुर्माका बिष्णु चौधरीले पनि धानको बीउ किन्दा सरकारले राजपत्रबाट हटाइ सकेको तथा बिक्रि बितरणमा प्रतिबन्ध लगाई सकेको गोरखनाथ ५०९ नै एग्रोभेट सञ्चालकले बिक्रि गर्दै आएको जानकारी दिए ।
‘मैले मसिनो चामलको बिउ मागे, तर मलाई एग्रोभेट सञ्चालकले झुक्याए अर्कै धानको बिए दिए र मैले माग्दा बिल पनि दिएनन्,’ चौधरीले भने ।
नेपाल सरकार बीउ बिउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले हाल गोरखनाथ ५०९ धानको बीउलाई हाइब्रिड नभएको पुष्ठि गर्दै हाइब्रिडको सूचिबाट हटाएर नेपालमा बिक्रि वितरणमा रोक लगाइ सकेको छ ।
कृषि ज्ञानकेन्द्र घोराहीका प्रमुख बुद्धि घिमिरेले गोरखनाथ ५०९ धानको बीउ हाइब्रिड भनेर बिक्रि बितरण गर्न नपाइने र कसैले त्यस्तो गरेको पाइएमा कारबाही हुने बताए ।
