२०८१ जेष्ठ १७ गते बिहिवार

अस्पताल जाने बाटाेमा स्थानीयवासीले तारबार लगाए, बिरामीलाई सास्ती

रुकुम पश्चिम,बैशाख १६ । रुकुम पश्चिमको चौरजहारी अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बितिसक्दा पनि बाटो खुलाउने प्रयास भएको छैन । अस्पताल जाने बाटोमा केही स्थानीयवासीले तारबार लगाएर बन्द गरेपछि एम्बुलेन्स तथा गाडीमा अस्पताल ल्याइने बिरामीहरूले सास्ती खेप्नु परेको छ ।

गएको चैत २६ गतेदेखि चौरजहारी बजारबाट अस्पताल जाने त्यस बाटो बन्द अवस्थामा छ । अस्पताल आउने मूल बाटो बन्द भएपछि बिरामी बोकेर आएका एम्बुलेन्स तथा गाडीहरू कि लामो बाटो घुमेर आउनुपर्ने कि त गाडीबाट झारेर–बोकेर अस्पतालभित्र ल्याउनुपर्ने अवस्था रहेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

आफ्नो घर तथा पसल पायक पर्ने ठाउँबाट बाटो नबनाएको भन्दै केही स्थानीयवासीले बाटो बन्द गरेको प्रमुख प्रशासक गिरीको भनाइ छ ।

लामो समयसम्म अस्पतालले मूल प्रवेशद्वारको टुङ्गो नलगाएको र चलनचल्तीमा रहेको गोरेटो बाटो बन्द गरेकाले निकासका लागि नयाँ बाटो बन्द गरेको स्थानीयवासीले बताएका छन् । पुरानो बाटो साँघुरो भएपछि नयाँ बाटो खोल्नु राम्रो भए पनि पुरानो बाटोलाई बन्द गरेर अस्पतालले स्थानीय व्यापार व्यवसायलाई बेवास्ता गरेको उनीहरूको आरोप छ ।

अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बित्दा पनि कहीँ कतैबाट बाटो खुलाउने प्रयास भएको छैन । यस विषयमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले तत्काल सम्बन्धित निकायसँग समन्वय गरेर बाटो सञ्चालन गरिने बताए । यसअघि बाटो बन्द भएको जानकारी आफूलाई प्राप्त नभएको समेत उनले बताए ।

सुरुमा अस्पताल नजिकैको बजार क्षेत्रमा सानो बाटो चल्तीमा रहेको थियो । अस्पतालमा बिरामीको चाप बढेसँगै एम्बुलेन्स, गाडीसमेतको आवाजजावत बढेपछि स्थानीयवासीकै सहमतिको अर्को बाटो सञ्चालन गरिएको थियो ।

यसैबिच चौरजहारीको मूल सडकदेखि मिसन अस्पतालसम्मको झन्डै एक किलोमिटर यस सडक यसै वर्ष ग्राभेल गरिसक्ने चौरजहारी साना सहर आयोजनाको तयारी रहेको छ । तर स्थानीयवासीले नै बाटो अवरोध गरेपछि समयमै काम सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको छ ।

आयोजनाका प्रमुख धीर फडेराले असार मसान्तसम्म बाटो ग्राभेल गरिसक्ने बताए । स्थानीयवासीको अवरोध कायमै रहेमा बाटो बन्द गरिएको ठाउँसम्म भए पनि ग्राभेल गरिसक्ने फडेराले जनाए ।

स्थानीयस्तरमा छलफलको वातावरण भएमा बाटो खुल्ने उनको विश्वास छ । बाटो ग्राभेल गर्नलाई कार्यालयले क्याराभान कन्ट्रक्सन प्रालीसँग झन्डै ३२ लाख रुपैयाँ बजेटसहितको ठेक्का सम्झौता गरिसकेको छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *