तुलसीपुर, चैत १७ । दाङको तुलसीपुरमा होलीमा ट्राफिक डमीसंग पनि होली खेलिएको छ । चैत १६ गते दाङसहित तराईका जिल्लाहरुमा होली मनाइएको थियो । त्यही क्रममा तुलसीपुरको सडकमा स्थापना गरिएका लेडी ट्राफिक डमीसंग पनि युवा युवतीले होली खेलेका हुन ।
तुलसीपुर क्षेत्रमा करिब डेढ महिना अगाडि तुलसीपुरको बाहिनी चोक, बिरेन्द्र चोक र बसपार्क जाने पिपल बोटको वरालोमा ट्राफिक डमी स्थापना गरिएको थियो । चालकलाई ट्राफिकको उपस्थिति अनुभूति गराउन र ट्राफिक नियम पालना गर्न प्रेरित गर्नका लागि डमी स्थापना गर्दै आइएको छ ।
तर, ती डमीहरुलाई समेत यहाँका युवा युवतीले होलीको अवसरमा रंगले रंगाई दिएका छन् ।
होली खेल्ने क्रममा खुसी र सदभाव साट्न महिला ट्राफिक डमीलाई समेत अभिर रंग लगाइ उत्लास मनाएको एक युवकले बताए । ‘होलीको दिन कोही सजिब ट्राफिक सडकमा थिएनन् ती ट्राफिक डमी महिला मात्रै एक्लै डिउटी गरिरहेको जस्तो लाग्यो,’ उनले भनिन् ‘उनी हामीले रमाइलो गर्दा उदास भएर नियाली रहेको जस्तो लाग्यो । त्यसैले उनीसंग पनि होली उत्लास बाँड्न होली लगाई खुसी तुल्याइ दिएका हौं ।’
इलाका प्रहरी कार्यालय तुलसीपुुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले ट्राफिक डमीलाई समेत होलीको रंगले रंगाई दिएको देखेर आफु निकै हाँसेको प्रतिक्रिया दिए । ‘त्यसलाई हामीले प्रहरी प्रतिको पब्लिकको सम्मानका रुपमा बुझेका छौं,’ सिंहले भने ‘प्रहरी र पब्लिकका बीचमा न्यानो सम्बन्ध कायम हुन सकेमा मात्रै समाज सही मार्गमा जान सक्छ ।’
तुलसीपुरमा डमी स्थापना भएकै दिन केही डमीबाट चश्मा गायब पारिएको थियो । तलसीपुरको बाहिनी चोकमा स्थापना गरिएको डमीको चश्मा एकजना मोटरसाईकलमा आएका व्यक्तिले डमी स्थापना भएकै दिन राति तानेर लगेको दृष्य सिसीटिभी फूटेजमा देखिएपनि ती ब्यक्तिले चलाएको मोटरसाईकलको नम्बर स्पष्ट नहुँदा उनलाई पक्राउ गर्न कठिन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए ।
ती ब्यक्तिलाई पच्छ्याउँदै प्रहरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जस्पुर क्षेत्रसम्म पुगेर अनुसन्धान गरेको भएपनि एकीन गर्न अलि नसकिएको र अनुसन्धान जारी रहेको केसीले बताए ।
‘रातिमा चोरी भएको हुँदा चश्मा तानेर लैजाने ब्यक्तिको अनुहारपनि स्पष्ट भएन र उनको मोटरसाईकल नम्बर पनि स्पष्ट खुलेन,’ केसीले भने ‘तर, हामीले ती ब्यक्तिलाई अझैं निगरानिमा राखेका छौं ।’
मुख्य बजारमै रहेका डमीका चश्मा, मास्क जस्ता सामानहरु निरन्तरण चोरी भइरहेका छन् । ती चोरी भएपछि ट्राफिकले फेरि चश्मा, मास्क लगाइदिने गर्छ । होलीको दिनमा फेरि पनि तुलसीपुरको बाहिनी चोक र बसपार्कको डमीको चश्मा चोरी भएको देखिएको छ ।
यत्तिमात्रै हैन, झन्डै डेढ बर्ष पहिले राप्ती राजमार्ग अन्तरगत तुलसीपुर– सल्यान खण्डको अप्ठेरो मोडहरुमा सडक सुरक्षाको लागि सडक ऐनाहरु स्थापना गरिए । ट्राफिक प्रहरी र प्रहरीको अनुरोधमा तुलसीपुरकै एक निजी विद्यालयको सौजन्यमा ती ऐनाहरु सडक खण्डमा स्थापना गरिएको थियो । तर, ती ऐना स्थापना गरिएको हप्ता दिन नबित्दै ती सबै ऐनाहरु गायब पारिए । ‘केही तोडिए र केही चोरी भए,’ ट्राफिक प्रमुख केसीले भने ‘असहिष्णु सामाज देखेर दिकदार लाग्छ ।’
समाजकै लागि भनेर सवारी दूर्घटना न्यूनिकरणमा टेवा पुगोस भन्ने उदेश्यले सार्वजनिक स्थलहरुमा राखिएका ऐना चोरी गर्ने र फुटाउने ब्यक्तिहरुको त्यतिबेला खोजी गरिएको भएपनि फेला पार्न नसकिएको केसीले बताए ।
तर, ट्राफिक डमीलाई समेत होलीमा रंग अभिरले होली खेल्नुलाई ट्राफिक प्रहरी प्रतिको सम्मानको रुपमा लिन सकिने केसीले तर्क गरे ।
‘लाग्थ्यो हामीप्रति समाज निकै नकारात्मक र असहिष्णु छ,’ उनले भने ‘तर, डमीसंग समेत रमाउँदै होली खेलेको देख्दा हामी प्रति समाज नकारात्मक मात्रै हैन सकारात्मक र सहिष्णिुपनि छ भन्ने बुझेका छौं ।’
उनले डमीसंग होली खेल्नेहरुलाई छिल्लीएका युवाहरु मात्रै भन्न नमिल्ने उल्लेख गरे । होली खेल्नेले सौहार्द पूवर्क डमी संग होली खेली अन्य कुनैपनि गलत गतिबिधि गरेको नदेखिएको उनले बताए ।
अभिर टीकाले रंगिएका ट्राफिक डमीहरु मंगलबार बिहानै ट्राफिक प्रहरीले सफा गरेका छन् ।