२०७८ बैशाख १ गते बुधवार

दाङमा २९ प्रतिशत हात्तीपाइले रोगका संक्रमित

तुलसीपुर,चैत १७ । हात्तीपाइले रोगविरुद्ध प्रत्येक वर्ष औषधि खुवाइँदै आए पनि दाङमा संक्रमणमा कमी आएको छैन ।

दाङमा हात्तीपाइले रोगको निवारणका लागि आगामी यहि चैत २० गते देखि अभियान सञ्चालन गर्न थालिएको छ ।

मंगलवार तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाले आयोजना गरेको पालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठीमा घरघरमा पुगेर हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै दाङ जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले नेपालभरको तथ्याङ्क हेर्दा अझै पनि १३ प्रतिशत हात्तीपाइले रोगको संक्रमण दर रहेको बताए ।

उनका अनुसार दाङ जिल्लामा पनि २९ प्रतिशत हात्तीपाइले रोगको संक्रमित रहेका छन ।

जिल्लामा १० औं पटकको चरणमा औषधि खुवाउँदा पनि नियन्त्रमा आउन नसकेकाले पुन ः ११ औं पटक यो अभियान थालिएको फोकल पर्सन चन्दले बताए ।

उनले यस वर्षको आम औषधि सेवन अभियानलाई सतप्रतिशत बनाउने गरी जिल्लाका स्थानीय तहहरुको सहयोगमा अभियानको थालनी गर्न लागिएको बताए ।

फोकलपर्सन चन्दले अभियानका रुपमा हात्तीपाइले रोगको औषधि खुवाउने पनि बताए ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसीले तुलसीपुरमा यहि चैत २५ गते देखि हात्तीपाइले रोगको औषधि खुवाउने अभियान सुरु गरिने बताए ।

उनका अनुसार तुलसीपुरमा मात्र यसवर्ष १ लाख ४५ हजार बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।

२ सय १८ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा ७ सय २३ जना स्वास्थ्यकर्मीले २५ देखि घरमा वा तोकिएका वडा कार्यालयहरुको बुथहरु बाट औषधी खुवाइने उनको भनाई छ ।

यो औषधि गर्भ्वती,सात दिनको सुत्केरी,२ वर्ष मुनिको बच्चा र सिकिस्त बिरामी, क्षारे रोगी बाहेक अन्यले खान पाउने छ ।

प्रत्येक वर्ष कम्तीमा ६ पटक नियमित रुपमा औषधी खाएमा यो रोगलाई निवारण गर्न सकिने केसीले जानकारी दिए ।

केसीका अनुसार गत वर्ष तुलसीपुरमा ७८ प्रतिशतले हात्तीपाइले रोगको औषधि खाएको तथ्याङ्क छ ।

सबैले नियमित रुपमा यो औषधि खाएमा मात्र एक प्रतिशत मात्र बिरामी दर भएमा यो रोग नियन्त्रण भएको मानिने केसीले बताए ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले सबैले नियमित रुपमा यसको प्रयोग गर्नुपर्ने बताए ।

यो रोग लागेको ६ देखि १० वर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोग लाग्नुअघि नै औषधि सेवन गर्नुपर्ने पाण्डेको भनाई छ ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले नियमित रूपमा हात्तीपाइले रोगको औषधी खाएमा स्वास्थ्य उपलब्धि हुने भन्दै यो अभियानलाई सफल पार्न सबै सरोकारवालाहरु एक हुनुपर्नेमा जोड दिए ।

जनस्वास्थ्य प्रर्वद्धन शाखाका सिअहेब विष्णुकुमार गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक बिमल केसीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *