तुलसीपुर,चैत ८ । दाङको तुलसीपुरमा सञ्चालन हुन लागेको राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिमा उक्त प्रतियोगिता हुने लागेको हो ।
युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा आउँदो चैतको १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन लागेको आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी तिब्र पारिएको जानकारी दिईएको छ ।
गुमनाम खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको युथस अफ तुलसीपुरका एडमिन अरुण लहरेले जानकारी दिए । उनले खेलमा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए ।
जस अन्तर्गत प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगितामा २६ जिल्लाका खेलाडी र ३ वटा विभागिय टोली सहित २९ टोलीको सहभागीता रहने युथस अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीले बताए ।
प्रतियोगीतामा पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने छ ।
प्रतियोगिताको उद्धघाटन पुर्वसञ्चारमन्त्री एवं खेलकुद बिभाग प्रमुख मोहन बहादुर बस्नेतले गर्नेछन ।
खेलाडीहरुको लागि खाना,बस्नसगंसगै यातायातको समेत व्यवस्था गरिएको आयोजक टिमले जनाएको छ ।
साथै उक्त प्रतियोगिता करिब २२ लाखको लागतमा सञ्चालन हुदै छ ।