पाल्पा, पुस १ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताए । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो ।
पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताए । उनले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएको हँुदा आफूले सहयोग गर्ने बचन दिए ।
अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हँुदा पुल पुनःनिर्माणका लागि तीव्रता दिने बताए । उनले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताए । देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उनको भनाइ थियो ।