तुलसीपुर, फागुन ९ । शनिवार राति पक्राउ पछि प्रहरीले थुनुवा कक्षमा राखेका एक ब्यक्तिको बिहानै मृत्यु भएको छ ।
रोल्पा स्थायी घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा कोठा भाडामा बस्दै आएका ४३ बर्षीय नन्दलाल वलीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार वलीलाई श्रीमतिको आग्रहमा शनिवार राति मात्रै पक्राउ गरिएको थियो । उनको आइतबार बिहानै मृत्यु भएको छ ।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले वलीकी श्रीमति उच्च अदालतमा राति आफै उपस्थित भएर आफुलाई श्रीमानले मदिरा सेवन गरि मार्न थालेको हुँदा सुरक्षाको माग गरेकी थिइन ।
त्यसपछि प्रहरीले राति दश बजेतिर अत्यधिक मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा वलीलाई नियन्त्रण पछि इप्रका पु¥याएको थियो । लगतै प्रहरीले वलीलाई नजिकै रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पु¥याएर मापसे चेकजाँच पछि पुनः थुनुवा कक्षमा लगेर राखेको थियो ।
मदिराले वली त्यसपछि पनि थुनुवा कक्षमा धेरै कराएका थिए । उनको होहल्लाका कारण संगै रहेका अरु थुनुवाहरु पनि सुत्न नपाएको प्रहरीले बताएको छ । उनले धेरै होहल्ला गर्न थालेपछि प्रहरीले पुनः उनकी श्रीमतिलाई बिहान १ बजे फोन सम्पर्क गरी उनलाई कोठामा लैजान भन्न खोजेको भएपनि श्रीमतिले मोवाईल अफ गरेको हुँदा सम्पर्क हुन नसकेको डिएसपी सिंहले बताए ।
त्यही बीचमा वली आफैं बिहान दूई बजेपछि कराउँदा कराउँदै निदाएको प्रहरीले जानकारी दिएको छ ।
त्यसरी सुतेका वली आइतबार बिहान ६ बजेदेखि एक्कासी घारघार–घुरघुर गर्न थालेको र एक्कासी बेहोस जस्तो देखिएपछि प्रहरीले उनलाई अस्पताल पु¥याएको थियो ।
तर, प्रहरीले उनलाई राप्ती प्रादेशिक अस्पताल पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक वलीको शरिरमा कुनैपनि चोट पटक वा घाउखत नदेखिएको भएपनि पोष्टमार्टम रिपोर्ट पछि मात्रै तथ्य कुरा भन्न मिल्ने डिएसपी सिंहले जानकारी दिए ।
वलीले केही दिन पहिले मात्रै मुखबाट रगत वान्ता गरेको भन्ने कुरा श्रीमतिले प्रहरी समक्ष बयान गरेको कुरापनि प्रहरीले बताएको छ ।
उनी तुलसीपुरमा कान्छी श्रीमति संग बस्दै आएका थिए । उनकी जेठी श्रीमति रोल्पामा बस्ने गरेको र मृत्युको खवर पाएपछि तुलसीपुर आउन लागेको प्रहरीले बताएको छ ।