२०८१ भाद्र २३ गते आइतवार

म्याद नाघेका खाद्य सामग्री जफत

तुलसीपुर,पुस २१ । दाङको तुलसीपुरमा म्याद नाघेका खाद्य सामग्री जफत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा पुगेको टोलीले मंगलवार तुलसीपुर बजारका पसलबाट म्याद गुज्रेका खाद्य सामाग्रीहरु जफत गरेको हो ।

तुलसीपुरका ११ वटा पसलमा अनुगमन गरिएकोमा अधिकांश पसलबाट म्याद गुज्रेका बिस्कुट,भुजा,तेल,बच्चाको पाउडर,चक्लेट,नम्किन,कस्मेटिक सामाग्री लगाएतका खाद्य सामग्री फेला परेको उपभोक्ता हित संरक्षण शाखा तुलसीपुरका प्रमुख रेखा शर्माले जानकारी दिइन ।उनले जफत गरिएका सामाग्रीहरु नष्ट गरिने बताइन ।

अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रिएको,मूल्यसूचि नटाँसेको, नविकरण नगरेको,बोर्ड नराखेको,किराना पसलमा खाद्यवस्तु र अखाद्यवस्तु अलग–अलग नराखेको र व्यवसायीलाई सुधार गर्न अनुगमन टोलीले सुझाव दिएको उनको भनाई छ ।

उनका अनुसार बजारमा मापदण्ड विपरीत सञ्चालन भैरहेका व्यवसायीलाई ३ दिनभित्र दर्ता प्रक्रियामा आउन चेतावनी दिइएको छ ।उपभोक्ता हित संरक्षण शाखासहित उपभोक्ता हित संरक्षण मञ्च नेपाल, स्थानीय प्रशासन, प्रहरी, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

साथै यस अघि आइतवार गरिएको अनुगमनको क्रममा तुलसीपुरको सितलपुर रोडमा रहेको पशुपति इन्टरप्राईजेजमा १ हजार २ दुई सय केजी मासको दाल म्याद गुज्रिएको भेटिएपछि तत्कालका लागि दाल बिक्री वितरणमा रोक लगाइएको छ ।

ठूलो परिमाणमा खाद्यवस्तु म्याद गुज्रिएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको समन्वयमा दालको गुणस्तर मापनका लागि नेपालगञ्ज पठाइएको छ । गुणस्तर मापनको नजिता आएपछि उक्त दालको जफत गरी नष्ट गरिने तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले जानकारी दिइन ।

 

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *