घोराही, पुस २० । एक अबोध बालिका । न उसको खुसी विद्यालयसम्म पुग्छ न त साथीभाइ सँगै नै । तुलसीपुर उपमहानगरपालिका–९ थर्कुडाँडा निवासी १५ बर्षीया आशा विक विगत एक दशकदेखि नै डोरीेको कसीमा छिन ।
बौद्धिक अपांग विकलाई घरमा हेरचाह गर्नेसमेत कोही छैन । आमा सम्पर्क विहीन छिन । बाबु घरको चुलो बाल्नको लागि दिनभर रिक्सा चलाउन बजार धाउँछन । त्यही भएर उनी डोरीमा बाँधिनु पर्छ ।
बोल्न नसक्ने विकलाई घरमा दिनभर हेर्नका लागि कोही नहुने र उनी बेसुरमा हिँडेर टाढा–टाढा जाने र परिवारलाई दुःख दिने गरेको भन्दै परिवारले बाँधेर राख्ने गरेको छ ।
घरको कमजोर आर्थिक अवस्था कारण दुई बर्ष पहिले कमाउनका लागि भारत गएकी आमा मोतीसरा बिक एक बर्षदेखि सम्पर्कविहीन छिन । घरमा छोराछोरीलाई सम्हालेर बसेका बुबा राजेश विकलाई दैनिकी चलाउन दिनभर काम गर्ने पर्ने बाध्यता छ ।
त्यही भएर उनी छोरीलाई डोरीले बाँधेर दैनिक मजदुरीका लागि जान विवश छन् । जेठा छोरा छुट्टिएर अलग बसेका छन । जेठी छोरी हराएको पनि सात बर्ष बढी भइसक्यो । भारतबाट नेपाल फर्कँदा हराएकी उनी अझै भेटिएकी छैनिन् । घरमा कान्छो छोरा छन । तर, उनी पढ्न जान्छन् ।
उनी विद्यालय गएपछि आशालाई घरमा हेरचाह गर्ने कोही हुँदैनन। त्यसैले उनलाई डोरीमा बाँधेर राख्नुपर्ने बाध्यता छ । अधिकारकर्मी राधिका परिवारले आशा विक परिवारले भोग्दै आएको समस्या कारुनिक भएको बताइन ।
बिकको सम्पत्तिको नाममा सानो झुपडी बाहेक केही छैन । दैनिकी चलाउनका लागि आम्दानीको श्रोत छैन । त्यही भएर बुबाले तुलसीपुरमा रिक्सा चलाउने गर्दछन ।
त्यही रिक्सा चलाएर आएको आम्दानीबाट दैनिक गुजरा चलाउनेदेखि छोरालाई पढाउने गरेका छन ।बौद्धिक अपांगता जिवन बिताउँदै आएकी आशा बेसुरमा हिँड्ने गरेको हुँदा बाँधेर राख्नुपर्ने बाध्यता रहेको बुबा राजेश विकले बताए ।
गरिवीका कारण लामो समय भारत बसेको विकको परिवारले गरिबीकै कारण छोरीको उपचार गर्न सकेको छैन । ‘परिवारको दैनिकी चलाउनै धौधौ छ, उपचार गर्ने त उनीहरुको लागि ठूलो सपना जस्तै बनेको कुरा हो,’ अधिकारकर्मी परियारले भनिन– ‘सहयोग गर्ने कोही छैन, दिनभरी काम गरेर भएको आम्दानी खान–लाउनमै सकिन्छ ।’
बाँधेर राखेकी आशा पुसको चिसोमा पातलो भेष्टमै हुन्छिन । परियारले आफूले आशाका लागि हालसालै केही न्यायो कपडा सहयोग गरेको जानकारी दिइन ।