काठमाडौं, पुस ८ । प्रचण्ड–नेपाल समुहको नेकपाले प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र बुधवार दिउँसो निर्वाचन आयोग बुझाएको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार समूहले ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको दाबी गर्दै आयोगमा पत्र बुझाएको हो ।
पत्र बुझाउन नेता सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधानलगायत नेताहरु आयोग गएका थिए ।
यो समुहले आयोग समक्ष पेश गरेको पत्रमा सूर्य चिन्ह आफुले पाउनु पर्ने दाबीसमेत गरेको छ ।
आफुहरु संग ३ सय बढी केन्द्रीय सदस्य रहेको र त्यो भनेको दूई तिहाइ भन्दा बढी दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक हुँदा सूर्य चिन्ह आफुहरुले नै पाउनु पर्ने यो सुहले दाबी पेश गरेको छ ।नेकपामा ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य आफुहरु संग रहेको दाबी प्रचण्ड– नेपाल पक्षको छ ।
नेकपा गठन हुँदा तत्कालिन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो ।
हाल आएर राजनीतिक र संवैधानिक नियुक्ति पाएका र मृत्यु भएकाको संख्या घटाउँदा ४ सय ३५ सदस्यीय कमिटी पुगेको छ ।
त्यस्तै मंगलबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय कमिटी बैठकले ५ सय ५६ नयाँ सदस्य थप गरेको थियो।
ओलीले साबिकको ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १ सय ९९ सदस्यीय पुगेको घोषणा गरेका थिए। त्यसपमा पनि १ सय ९७ जनापछि थप गर्ने जानकारी दिइएको थियो ।
ओली समुहले पनि आफुहरु नै आधिकारिक भएको भन्दै चुनाब चिन्ह सूर्य आफुहरुले नै पाउनु पर्ने दाबी गरेको छ ।
प्रथम अध्यक्ष र महासचिव आफुसंगै भएको हुँदा आफुहरुको समुह नै आधिकारीक भएको यो समुहको जिकिर छ ।