सल्यान, मंसिर २६ । सल्यानको कपुरकोटमा जनकेन्द्रित विकास अवधारणा बारे कार्यशाला शुरु भएको छ ।
कपुरकोट गाउँपालिकाको आयोजना र दलित विकाश समाज सल्यानको समन्वयमा तीन दिने कार्यशाला गोष्ठि शुक्रबारदेखि सुरु भएको हो ।
कार्यशालाको उद्घाटन गर्दै गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेनले विकाश प्रक्रियालाई पूर्ण रूपमा नागरिक केन्द्रित गर्नुपर्ने जोड दिए ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले योजनाको पहिचान, योजना तर्जुमादेखि विकासको प्रतिफल वितरणसम्मका हरेक चरणमा समुदायको निर्णायक सहभागिता रहन जरुरी रहेको बताए ।
गोष्ठिको उद्देश्यमाथि सहकर्मी समाज कोहलपुरका वरिष्ठ संस्थागत क्षमता विकाश संयोजक राजाराम गुप्ताले निर्वाचित जनप्रतिनिधिहरुको धारणागत ब्यवहारमा परिवर्तन आवश्यक रहेको धारणा राखे ।
आवश्यक योजना निर्माण, त्यसको कार्यान्वयन सीप र सिमान्तकृत तगथा पछि पारिएका नागरिकलाई स्थानीय सरकारका सेवा सुविधाहरु माथिको पहुंच स्थापित गर्न जरुरी रहेको उनले औंल्याए ।
उनले स्थानीय नागरिकले आफ्ना समस्या आफै पहिचान गर्दै विकासलाई छिटो, टिकाउ र कम खर्चिलो बनाउनका लागि विकासमा जनसहभागिताको महत्व रहेको बताए ।