२०८१ भाद्र २८ गते शुक्रवार

सगरमाथाको नयाँ उचाइ अब ८८४८.८६ मिटर

काठमाडौँ,मंसिर २३ । सगरमाथाको नयाँ उचाइ ८८४८।८६ मिटर कायम भएको छ ।

मंलबार नेपाल र चीन बीचको संयुक्त बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गरेको हो ।

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरणहरु, चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको नापी विभागले जनाएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।

दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।

यसअघि भारतले सन १९५४ मा सगरमाथाको उचाई मापन गरेको थियो । त्यतिबेलाको मापनमा प्राप्त उचाई ८ हजार ८ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ ।
त्यसपछि सन १९९९ मा अमेरिकाले र सन २००५ मा चीनले सगरमाथाको उचाई मापन गरेका थिए ।

अमेरिकाको मापनमा ८ हजार ८ सय ५० मिटर उचाई थियो भने चीनले गरेको मापनमा ८ हजार ८ सय ४४ मिटर थियो ।

चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको नापी विभागले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *