तुलसीपुर,मंसिर १० । “लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ बुधवार देखि देशैभर २९ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा बिरुद्धको अभियान २०२० सुरु भएको छ ।
नोभेम्बर २५ देखि महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवस र डिसेम्बर १०–अन्तराष्ट्रिय मानवअधिकार दिवस, सम्मको १६ दिनलाई सन् १९९१ देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउदै आइएको हो ।
यता तुलसीपुरमा पनि महिला हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा विभिन्न सघंसस्थाको सहकार्यमा उक्त अभियान सुरु भएको हो ।
सो अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिका का उपप्रमुख माया शर्माले यो अभियान बर्षमा १६ दिन मात्रै नभई वर्षभरि नै सञ्चालन गरिरहेको बताइन ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमले सबैभन्दा पहिला तुलसीपुर उपमहानगरपालिका कार्यालयमा नै हिंसाको अवस्था के छ भनी अनुगमण गर्न आग्रह गरे ।
उनले पुरुषबाट मात्रै नभई महिलाले महिला माथि र महिलाले पुरुष माथि पनि हिंसा गर्न सक्ने भएकाले उपमहानगरपालिका भित्रबाट नै यो अभियानको सुरुवात गर्नुपर्ने बताए ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियानमा दाङका १० वटै स्थानीय तहमा महिला हिंसा विरुद्धका छलफल, भर्चुअल बैठक, समन्वय बैठक, सेतो रिबन अभियान सञ्चालन गरिने छ ।
कार्यक्रममा आरेक दाङका जिल्ला संयोजक इश्वरी थापाले बितेको ११ महिनामा विभिन्न प्रकृतिका १ सय ३४ वटा घटना दर्ता भएको बताइन ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत विष्णु आर्चायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन ।