
दाङ,कात्तिक २६ । जाजरकोटका दूई व्यक्ति बाँकेबाट ७ किलो प्रतिवन्धित अफिमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाढ नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँ निवासी ३३ वर्षीय बीरेन्द्रमान सिंह रहेका छन् ।
लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी पुग्दा शंकास्पद अवस्थामा रहेका उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले मंगलबार बेलुका ५ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर २ बसपार्कस्थित भेरी गेष्ट हाउसको कोठा नम्बर १०५ बाट उनीहरुलाई पक्राउ गरिएको एसपी रानाले जानकारी दिए ।
पक्राउ गरेकाहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो । लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार लागु औषध कारोवार तथा ओसार पसारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्म कैद सम्म हुन सक्ने व्यवस्था छ । त्यसका साथै ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
