२०८१ चैत्र ९ गते शनिवार

बाँके दुर्घटना : चालकसहित ६ जनाको मृत्यु

५ जना महिला परे, थप १८ घाइते

दाङ, असोज २० । पूर्वपश्चिम राजमार्ग अन्तरगत शनिवार बिहान बाँकेमा भएको सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य ५ जना महिला र हायसका चालक रहेका छन् । थप १८ यात्रु घाइते छन् ।

५ नं. प्रदेशको प्रहरी प्रमुख एवं डिआईजी शेरबहादुर बस्नेतले घटनास्थलमा मृत्यु भएका मध्य ३ जना महिला र १ जना पुरुष (हायसका चालक) को मृत्यु भएको जानकारी दिए । मृतक चालक तुलसीपुर उपहानगरपालिका वडा नं. ७ निवासी अन्दाजी ३२ बर्षीय सुगन चौधरी रहेको जानकारी दिइएको छ ।

घटनास्थलमा मृत्यु भएकाहरु मध्य चालक बाहेक अरु तीन जना महिला कसैको पनि पहिचान खुल्न नसकेको डिआईजी बस्नेतले फरक कोणलाई जानकारी दिए ।

दुई जना महिलाको अस्पतालमा मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका निवासी अन्दाजी ३० बर्षीया तुलसी रावत र तुलसीपुरकै अन्दाजी २७ बर्षीया वशन्ती चौधरीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते मध्य अधिकाँस तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ६ का स्थसानीय रहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

दाङको तुलसीपुर बाट बाँके तर्फ जाँदै गरेको रा १ ख १६६२ नम्वरको यात्रु बहाक हायस र बाँके बाट पूर्व तर्फ आउँदै गरेको ले १ ख ७७२९ नम्वरको ट्रक शनिवार विहान पौने ९ बजेतिर आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । राप्ती सोनारी गाउँपालिका वडा नं. ९ स्थित मुगुवा खोलाको मोडमा तीव्र गतिको ट्रकले हायसलाई ठक्कर दिएको घाइते यात्रुले बताएका छन् । हायस र ट्रकले बसलाई उछिन्ने प्रयास गर्दा मोडमा उक्त दुर्घटना भएको बताइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *