२०८३ जेष्ठ २३ गते शनिवार

गुरु केसीको नेतृत्वमा कमरा विकको परिवारलाई खाद्यान्न तथा नगद सहयोग

लखनउमा आर्थिक संकलन गरि विकको उपचार हुँदै

तुलसीपुर, कात्तिक २३ । दशैंको दिन अनाहकमा एक समुहको आक्रमणका परि एउटा खुट्टा गुमाएका तुलसीपुरका कमरा विकको परिवारलाई स्थानीय युवाहरु मिलेर नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

तुलसीपुर उपमाहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४६ बर्षीय घाइते विकको घरमा साँझ विहानको गर्जो टार्ने समस्या पर्न थालेपछि स्थानीय कटाँहा गाउँ निवासी गुरु केसीको नेतृत्वमा उनको घरमा पुगेर नगद तथा खाद्यान्न सहयोग गरिएको छ ।

शनिवार नवलपुरस्थित विकको घरमा पुगेर १५ हजार नगद र थप ५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको केसीले फरककोणलाई बताए । उक्त सहयोग घाइते विककी श्रीमती सावित्रा विकलाई हस्तान्तरण गरिएको केसीले जानकारी दिए ।

कटाँहाका विनोद बस्नेतले आपसमा सहयोग संकलन गरि मानविय नाताले विकको परिवारलाई नगद तथा खाद्यान्न सहयोग प्रदान गरिएको जानकारी दिए ।

घरका मुलि कमरा विक घाइते भएपछि अति बिपन्न विक परिवारमा साँझ विहान हातमुख जोर्न समेत नसक्ने अवस्था सृजना भएको हुँदा मानविय नाताले उक्त सहयोग प्रदान गरिएको बस्नेतले जानकारी दिए ।

सहयोग लगेर विकको घरमा यादव टन्डन, जोयल गिरी, प्रकाश खड्का, प्रदिप रसाईली लगाएतका युवाहरु पुगेका थिए ।

तुलसीपुर १२ टरिगाउँवाट भान्जाको विहे भोज खाएर घरतर्फ फर्किरहेका विकमाथि दशैंको दिन राति तुलसीपुर १० को गोलौरी र पढ्ढाको बीचमा एकलास स्थानमा केही युवाहरुले अनाहकमा आक्रमण गरि उनको दाँया खुट्टा छिनाली दिएका थिए ।

 

धारिलो हतियारको आक्रमण बाट विकको दुबै हातमा समेत गहिरो घाउ खत रहेको छ । उनको हाल भारतको लखनउमा उपचार भइरहेको छ ।

बिपन्न परिवारका विकको परिवारलाई आर्थिक सहयोग र खाद्यान्न सहयोगका लागि स्थानीय अन्य युवाहरुपनि प्रयासरत रहेका छन् ।

यसैबीच साबित्रा विकले मानविय नाताले आर्थिक सहयोग संकलन गरि आफ्ना पतिको जीवन रक्षा गरिदिन सबैमा आचना गरेकी छन् । ‘ न घर भित्र खाने चारो छ , न उपचारका लागि एक पैंशा छ,’ विकले भनिन् ‘ यस्तो बेलामा मानविय नाताले सबैले सक्दो सहयोग गरिदिन उहाँ र हाम्रो प्राण बच्ने थियो।’

बिक परिवारले आरण चलाएर गाउँ घरमा फलामाका घरेलु औजारहरु निर्माण गरि जिविका चलाउँदै आएको छ ।
सावित्रा बिकले घरका मुलि आफ्ना श्रीमानको ज्यान लिने उदेश्यले भएको आक्रमणले उनी अपाङ्ग हुने निश्चित भएको र त्यसले आफ्नो परिवारलाई जीवन यापन गर्न कठिन हुने भन्दै चिन्ता जाहेर गर्दै आएकी छन् ।

भारतमा पनि आर्थिक सहयोग संकलन गरि विकको उपचारको प्रयास भइरहेको छ ।

विकको आफ्नै जग्गा जमिन छैन । उनीहरुको परिवार ऐलानी जग्गामा बसोबास गर्दै आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *