२०८३ जेष्ठ २३ गते शनिवार

दाङका एक प्रअको कोरोनाका कारण मृत्यु

दाङ, कात्तिक २२ । दाङको घोराही निवासी ५९ बर्षीय एक प्रधानाध्यापकको कोरोनाका कारण मृत्यु भएको छ । मृतक घोराही उपमहानगरपालीका वडा नम्बर १५ निवासी मदनकुमार शर्माको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

उनी मावि गोग्लीका प्रधानाध्यापक हुन । उनी कार्तिक १ गतेदेखि सरुवा भएर मावि गोग्लीमा गएका थिए ।  त्यसअघि उनी मावि भ्युडहर सुनपुर भमकेका  प्रधानाध्यापक थिए । शर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन । 

उनको नेपलागञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान ५ ः २५ मा  मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । 

शुक्रवार दिउँसो मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी २० बर्षीया एक कोरोना संक्रमित सुत्केरीको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । विहीवार राति मात्रै लमही नगरपालिका वडा नं. १० निवासी ६४ बर्षीय  एक पुरुषको मृत्यु भएको थियो । 

योसहित दाङमा हालसम्म १८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । झन्डै दूई हजार पाँचसय जति संक्रमितको संख्या पुगेको छ ।   

उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा कात्तिक ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि  कात्तिक २० गतेसम्म उनको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार भएको थियो । 

उनको स्वास्थ्य थप जटिल बन्न थालेपछि  कात्तिक २० गते बेलुका ८ बजे उनलाई बाँकेस्थित भेरी अस्पतालमा लगेर उपचार थालिएको थियो । 

उनको स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताए । यो सहित बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु मध्य  २८ जना बाहिरी जिल्लावाट उपचारका लागि बाँके लगिएका र ३५ जना  बाँके जिल्लाका रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *