दाङ, कात्तिक २१ । दाङ तुलसीपुरकी एक २० बर्षीया सुत्केरीको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी संक्रमित ती महिलाको बच्चा जन्मि सकेपछि कोरोनाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनी कात्तिक १६ गते प्रसुती सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन । १७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । १८ गते आशंका लागेर १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड यूनिटमा भर्ना गरेर उपचार थालिएको थियो ।
उनको स्वास्थ्यमा सुधार नआएपछि शुक्रवार दिउँसो ३ बजेर २० मिनेट जाँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनको शवको व्यवस्थापन बाँकेमै गर्न लागिएको बाँकेका फोकल पर्सन श्रेष्ठले बताए ।
यसअघि गएराति मात्रै दाङ लमही नगरपालिका वडा नं. १० निवासी ६४ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा विहीवार राति ९ बजे मृत्यु भएको थियो । यो सहित बाँकेमा शुक्रवार सम्म ५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
