
तुलसीपुर, कात्तिक १९ । अबदेखि तुलसीपुरमा छोरीहरुको लागि गूड न्यूज छ । तुलसीपुर उपमहानगरपालिकाले अबदेखि छोरी जन्मेदेखि २० बर्षसम्म निरन्तर मासिक रुपमा रकम जम्मा गरिदिने भएको छ । छोरीको महत्व दर्शाउन, उनीहरुको शिक्षा, स्वास्थ्य र पठन पाठनमा सघाउन नगरले प्रशंसनिय कार्यको सुरुवात गरेको छ । बिहेपछि पनि छोरीहरुलाई सहज जीवन यापन गर्न सहजता होस भनेर नगरले मासिक एक सय रुपैंया जम्मा गर्ने अभियान सुरु गरेको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।
उनले छोरीको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना एक सयका दरले बैंक खातामा रकम जम्मा गर्ने क्रम सुरु भएको जानकारी दिए । कार्यपालिकाको ९५ आंै बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि पारित गरेसँगै अब यो लागु हुने उनले बताए । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वजेट समेत विनियोजन गरिसकेको नगर प्रमुख पाण्डेले जानकारी दिए ।
कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन् । कार्यविधि केही ढिला पारित भएको भएपनि पहिलेदेखि नै यो कार्यक्रम लागु हुने उनले जानकारी दिइन । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
जन्म दर्ता अनिवार्य गर्नुपर्नेमा कतिपय अभिभावकले ढिला गर्ने गरेको भन्दै ३५ दिन भित्र गरिदिन शर्माले आग्रह गरेकी छन् । त्यसका साथै अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराउनु पर्ने हुन्छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपंैया र त्यसपछि हरेक महिना एक सयका दरले खातामा रकम जम्मा हुने उपमेयर शर्माले जानकारी दिइन ।
उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि मात्रै उक्त रकम निकाल्न मिल्ने व्यवस्था गरिएको छ ।
कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्ने उल्लेख गरिएको छ । बीचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुने प्राबधान राखिएको छ ।
मेयर पाण्डेले तत्काललाई मासिक एक सय रुपैंया जम्मा गर्न थालिएको भएपनि भविस्यमा कार्यविधि परिवर्तन गरेर आवश्यकता अनुसार रकम वढाउन सकिने तर्क गरे ।
कार्यविधिमा कथमकदाचित समय अगावै बालिकाको मृत्यु भएमा, गम्भीर प्रकृतिको रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएको खण्डमा त्यतिबेला सम्मको पुरै रकम बैंक खातामा उपमहानगरले जम्मा गरिदिने प्रावधान राखिएको छ ।
