२०८३ जेष्ठ २४ गते आइतवार

कोरोनाले बाराका कांग्रेस महासमिति सदस्यसहित दुई जनाको मृत्यु

वीरगन्ज,कात्तिक १६ । बाराका नेपाली कांग्रेस महासमिति सदस्य मदन मण्डलको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

बाराको आदर्शकोतवाल गाउँपालिकाको टेढाकट्टी घर भएका ४५ वर्षीय मण्डलको , उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै आइतबार बिहान मृत्यु भएको हो।

तीन दिन पहिले श्वास प्रश्वासमा समस्या भएर सिकिस्त भएपछि मण्डललाइ बाराको कोल्हवीकै स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोनाको आशंका भएपछि मण्डललाइ शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको थियो।

शनिबार नै स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा मण्डलको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएपछि मण्डललाइ नारायणी अस्पतालका चिकित्सकले वीरगन्जकै बाबा होटेलमा सन्चालित कोभिड अस्पतालमा लैजान सुझाएका थिए।

तर आफन्तले काठमाडौंको नर्भिक अस्पतालमा लैजाने क्रममा मण्डलको आइतबार बिहान बाटोमै मृत्यु भएको नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए।

नारायणी अस्पतालका चिकित्सक डाक्टर दीपक चौरसियाका अनुसार , मण्डललाइ शनिबार नारायणी अस्पताल ल्याउँदा नै उनको अवस्था गम्भीर थियो।

यसअघि शनिबार नै बाराको निजगढ नगरपालिका( ९ का ६२ वर्षीय पुरूषको वीरगन्जस्थित बाबा होटलमा नेशनल मेडिकल कलेजले सन्चालन गरेको कोभिड अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाइ उपचारको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको थियो। कोरोनाको आशंका भएपछि स्वाब संकलन गरेर नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा उनमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि त्यहि दिन उनलाइ बाबा होटलमा सञ्चालित कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।

कोभिड अस्पतालमै उपचारका क्रममा उनको शनिबार बिहान पौने ६ बजे मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर परवेज अन्सारीले जानकारी दिए।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *