२०७७ मङ्सिर १७ गते बुधवार

प्रहरीले थाल्यो बालविवाह विरुद्ध १५ दिने सचेतना अभियान


तुलसीपुर, कात्तिक १३ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बालविवाह बिरुद्ध १५ दिने सचेतना अभियानको थालनी गर्ने भएको छ । समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रदेशका सबै जिल्ला र प्रहरी इकाइहरुमा त्यस्तो अभियान शुक्रवारदेखि सुरु गरिने भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले बिहीवार पत्रकार सम्मेलन गरि त्यस्तो जानकारी दिएको हो ।

स्थानीय सरकार तथा विभिन्न संघ–सस्थाको समन्वयमा प्रहरीले शुक्रबारदेखि कात्तिक २८ गतेसम्म सचेतनामुलक अभियान संचालन गर्ने प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।
प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम संचालन हुने अभियान मातहतका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले ५÷५ वटा कार्यक्रम संचालन गर्ने भएका छन ।

त्यस्तै वडा प्रहरी कार्यालयबाट ३ वटा र प्रहरी चौकीमार्फत २ वटा कार्यक्रम संचालन गरिने छन् । कार्यक्रम अन्तगर्त प्रहरी चेक पोष्टहरुमा सचेतनामूलक व्यानर, प्लेकार्ड बजार तथा प्रहरी कार्यालय अगाडी राख्ने, विभिन्न चेकिङ स्थानजमा सचेतनामूलक पोष्टर राख्ने, माइकिङ गर्ने, बजार क्षेत्रमा २÷३ जनाको समुहमा अभियानबारे जानकारी गराउने लगाएका रहेको प्रदेश प्रहरी प्रबक्ता बैदवारले बताए ।

बालविवाह हुनेमा दाङ दोस्रो स्थानमा
प्रहरी तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा बालविवाह हुनेमा दाङ दोस्रो स्थानमा रहेको छ । तीनवर्षको अवधिमा प्रदेशका १२ जिल्लामध्ये प्यूठानमा सबैभन्दा धेरै १९ वटा बालविवाहका घटना भएका छन । त्यस्तै दाङमा १३ वटा बालविवाहका घटना भएको तथ्याङ्कले देखाएको छ । तीन वर्षको अवधिमा बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २ र कपिलवस्तु, रुकुम पूर्वमा र रुपन्देहीमा १÷१ वटा बालविवाह भएको प्रदेश प्रहरीको तथ्यांकमा छ ।

प्रहरीका अनुसार नवलपरासी पश्चिम, रोल्पा र पाल्पामा बालविवाहको घटना शून्य देखिएको छ । तीन वर्षको अवधिमा बालविवाह गर्नेमा १० देखि २६ वर्ष उमेरसमुहका धेरै रहेका छन् । प्रदेशमा तीन वर्षको अवधिमा ४९ वटा बालविवाहका घटना भएका छन । ति मध्ये २७ वटा बालविवाह १६ देखि २६ वर्ष उमेरसमुहकाले गरेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷०७५ देखि बितेको आर्थिक वर्षसम्मको तथ्यांक अनुसार दाङमा १३ वटा बालविवाहका घटना भएको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए । दाङमा आर्थिक वर्ष २०७४÷०७५ मा २ वटा, २०७५÷०७६ मा ८ वटा र गत आर्थिक वर्ष २०७६÷०७७ मा ३ वटा बालविवाहका घटना प्रहरीमा दर्ता भएका हुन ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *