तुलसीपुर, कात्तिक ११ । तुलसीपुरमा कमारा बिकमाथि भएको सांघातिक हमलाबारे अनुसन्धान गर्न प्रहरीले १८ जना युवालाई पक्राउ गरेको छ ।
उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी नवलपुर निवासी ४५ बर्षीय विकमाथि तुलसीपुर १० गोलौरीमा गएराति अपरिचित समुहले सांघातिक हमला गरेको थियो ।
उनी एउटा खुट्टा छिनालेको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ ।
सोही घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका १८ जना जति युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले फरककोणलाई बताए ।
‘ पक्राउ परेकाहरु माथि सोधपुछ र अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने ‘ गएराति सोही गाउँका युवाहरुका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको छ ।’
घाइते बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो । घाइतेलाई थप उपचारका लागि भारतको लखनउ तर्फ लगिएको छ ।
अत्यधिक रक्तस्रावका कारण घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गोलौरीमा आफ्नो भान्जाको विहे भोज खाएर आफ्नो घर तर्फ जाँदै गरेका बिकमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा सांघातिक आक्रमण भएको प्रहरीले बताएको छ ।