तुलसीपुर ,असोज ३० । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरि एक युवाको हत्या गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ति निवासी १८ बर्षीय नरेश चौधरीको हत्या भएको छ ।
विहिवार बेलुका ८ बजेतिर छिमेकी २५ बर्षीय ओमप्रकाश घर्ती र उनका ६० बर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए ।
भट्टका अनुसार बेलुका ८ बजेतिर कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएको थियो । त्यो आरोप पछि चौधरी घर्तीको घरमा आए ।
त्यसपछि घर्तीको कुखुरा फर्ममै उनीहरु बीच बादविवाद भयो ।
त्यही क्रममा बाबु छोरा मिलेर हात र लाठीले चौधरीमाथि कुटपिटि भएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । ‘छोराले हात खुट्टाले र उनका बाबुले आँफुले टेक्ने लौरोले कुटपिट गरेको भन्ने खुल्न आएको छ,’ प्रहरी निरिक्षक भट्टले भने ‘ घटनावारे थप अनुसन्धान हुँदै छ ।’
घाइते चौधरीलाई उनकी आमाले राति नै घर लगेपनि उपचार गर्न नलगेको हुँदा अत्यधिक रक्तश्रावाका कारण उनको मृत्यु भएको देखिन आएको प्रहरीले बताएको छ ।
लाठीको आक्रमणबाट चौधरीको टाउकोमा गहिरो घाट चोट लागेको र त्यसैकारण अत्यधिक रक्तश्राब भएर उको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विहान ५ बजेपछि मात्रै प्रहरीलाई घटनावारे खवर प्राप्त भएको र प्रहरी पुग्दा चौधरीको मृत्यु भइसकेको प्रहरीले बताएको छ ।
चौधरीको शव भने पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।
चौधरीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।