२०८१ माघ ९ गते बुधवार

मौलिक संस्कृती पहिचान गर्न सम्मेलन गरिदै

शंकर के.सी.
सल्यान, मंसिर १८ ।
सल्यानको त्रिवेणी गाउँपालिकाले मौलिक संस्कृतिको पहिचान गर्न सम्मेलन गर्ने भएको छ । गाउँपालिकाभित्र के–कस्ता कला संस्कृति छन् ? त्यसको पहिचान गर्नका लागि गाउँपालिकाले ‘लोक कला संस्कृति सम्मेलन २०७५’ आयोजना गर्ने निधो गरेको अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए ।

विकट गाउँबस्तीका मौलिक संस्कृति लोप हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त भइरहेको हुँदा गाउँपालिकाले संस्कृति पहिचान गर्न सम्मेलन गर्न लागेको अध्यक्ष डाँगीले बताए । ‘सम्लेनको उद्देश्य गाउँपालिकाभित्रका सबै वडामा कस्ता–कस्ता मौलिक संस्कृति छन् ? भनेर पत्ता लगाएर त्यसको संरक्षणमा जुट्नको लागि हो,’ अध्यक्ष डाँगीले भने ।

आगामी शनिबार अर्थात् मंसिर २२ गते लुहामस्थित त्रिवेणी तीर्थशाला धाममा लोककला संस्कृति सम्मेलन आयोजना गर्ने निर्णय भएको अध्यक्ष डाँगीले जानकारी दिए । सल्यान त्रिवेणीको पिमखोला सोरठी, टप्पा र पैंसेरु नृत्यका लागि प्रख्यात छ । यद्यपि पछिल्ला पुस्ताहरु मौलिक कला संस्कृतिलाई भुल्दै पश्चिमा संस्कृतितर्फ आकर्षित भइरहेको पाइन्छ ।

नयाँ पुस्तालाई मौलिक कला संस्कृतिको महत्व बुझाउन र मौलिक कला संस्कृतिको प्रवद्र्धन गर्नका लागि सम्मेलन आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए । उनले सम्मेलनमा गाउँपालिकाका ६ वटै वडाबाट एकदर्जन बढी साँस्कृतिक समूहहरुको प्रदर्शन गरिने जानकारी दिए । उक्त कार्यक्रममा वरिष्ठ बाध्यवाद्यक तथा मौलिक संस्कृतिका संरक्षणकर्ता खर्कबहादुर बुढालगायतका कलाकारहरुको पनि विशेष प्रस्तुति रहने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *