२०८१ चैत्र ९ गते शनिवार

७३ बर्ष अघि तुलसीपुर कस्तो थियो ?

नारायण खड्का,
तुलसीपुर, भदौ ३० । ७३ बर्षीया सोमती चौधरीले विद्यालय पढन् गइनन् । अरु जस्तै उनीपनि सानैदेखि काममा जोतिइन । दाजु भाइले केही ४/५ कक्षासम्म पढेपनि दिदी बहिनी कसैले पनि पढ्न पाएनन् । ‘बुवाले पढाउनु भएन । उतिबेला छोरीलाई पढाउने चलन त्यति थिएन,’ उनले भनिन् । सोमवार जन्मेको हुँदा अभिभावकले नाम सोमती राखिदिए । थारु जातिमा जुन दिन बार र परिवेशमा बालबालिका जन्मिन्छन् त्यही नाम राखिदिने प्रचलन अझैंपनि छ ।

कम्लहरी बस्दा ठ्याक्कै कति बर्षको थिइन त्यो थाहाँ छैन। तै उनले पानीको गाग्री उठाउन सक्दिन थिइन रे । त्यही भएर सानो मट्का लगेर पानी लिन जान्थिन । उतिबेला तुलसीपुरमा अहिलेको जस्तो पानीको सुविधा थिएन । कि रानी जरुवा, कि भने हालको बसपार्कस्थित एक ईनारमा पानी लिन जानुपर्ने बाध्यता थियो । बसपार्कको पिपल बुटा नजिकै इनार थियो रे । आज त्यसको नाम निशान छैन । त्यही इनारमा सात गाउँका मानिस पानी भर्न जान्थे । गौलौरा, रजौरा, डुर्मीगाउँ, बरुवागाउँ, जवरपुर,नामिनगर, दोघरे लगाएका गाउँलेहरुको पानी भर्ने एउटै इनार थियो ।

‘संङ्लो पानी लिन आधि रातमै उठ्नु पर्ने अवस्था हुन्थ्यो । हामी विहान २ बजे नै उठेर पानी भर्न जान्थिम,’सोमतीले भनिन् ‘गाउँ भरका महिला जम्मा भएर संगै पानी लिन जान्थिम।’ढिला भए त्यतिका गाउँका मानिसले बाल्टिङले पानी तान्दा तान्दा पानी नै धुमिलो भइसक्थ्यो । सोमती तुलसीपुरका पूर्व मेयर ढुण्डिराज लामिछानेको घरमा १५ बर्षसम्म कम्लहरी बसिन । गाउँमा थारु बाहेक पहाडीको एउटै घर थियो । त्यो तिनै लामिछानेको घर थियो । ढुण्डिराज सोमती चौधरी भन्दा उमेरले केही जेठा नै हुन । ‘ढुण्डिराज मेरो दाई संगका हुन । दाई म भन्दा दुई वर्षजति जेठो थियो,’ सोमतीले विगत संझिइन ।

 

बिक्रम संवत २००३ सालमा हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को डुर्मीगाउँमा सोमती जन्मेकी हुन । विहेपनि गाउँमै गरिन । सोमती सानो छँदा डुर्मीगाउँमा पुरै खरबारी हुन्थ्यो रे । गाउँभर थारुका १२ घर र लामिछानेको एउटा घर मात्रै थियो । हालको तुलसीपुर बजार अन्तरगत नामिनगरमा थारुका ४ र घोराही जाने रोड नजिकै (तुलसीपुर) हालको बंगुरलाईमा ५ घर मात्रै थिए ।

सोमती थाहाँ पाउने हुँदा तुलसीपुर बजारमा खेत वारी मात्रै थियो । सिजन अनुसार वर्षामा धान र हिउँदा तोरी हुन्थ्यो । ‘मंसिर पुसमा धान झुलेको हुन्थ्यो, त्यसपछि तोरी फूलेर पँहेलै हुन्थ्यो,’सोमतीले भनिन् ‘बाटो थिएन । खेतका आली भएर हिड्नु पर्दथ्यो।’ उनका अनुसार हालको विरेन्द्र चोकदेखि बाहिनी चोक सम्म सबै खेत बारी मात्रै थियो । पछिल्लो पुस्ता धेरैका लागि यो कथा जस्तै भइसकेको छ ।

२२ सालमा उनले पहिलो सञ्तानको रुपमा डिल्लीबहादुर चौधरीलाई जन्मदिइन । जो हाल प्रदेश सभा सदस्य छन् । गत निर्वाचनमा उनी जिल्लावाट नेपाली काँग्रेसबाट निर्वाचित एक्ला नेता हुन । जो यसअघि समानुपातिक सांदस थिए । सोमतीका अनुसार उनका छोरा जन्मिएपछि मात्रै तुसलीपुरमा एक दुई जनाले घर निर्माण गर्न सुरु गरेका थिए । सोमतीले विहे गर्दा २१/२२ बर्षको थिइन रे । उनले गाउँकै टुकलाल चौधरीसंग भागी बिवाह गरेको बताइन । टुकलाल विवाहित थिए ।

उतिबेला थारु जातिमा साटो गर्ने प्रचलन हुन्थ्यो । जुन घरमा छोरी दिइन्छ त्यही घरवाट बुहारीपनि ल्याउने गर्थे । तर सोमतीले त्यसो गरिनन् । उनले प्रेम विवाह गरिन । सोमती सौता वन्न गएकी थिइन । नजिकैको थारु गाउँ रजौरावाट टुकलालले पहिलो पत्निको रुपमा चम्फी चौधरीलाई भित्र्याएका थिए । सोमतीका अनुसार चम्फीकै आग्रहमा आफुलाई पति टुकलालले विवाह गरेको बताउँछिन् ।

‘मेरो सौताको बच्चा बच्ची जन्मेपनि मरिहाल्ने । दूई तीन वटा जन्मिदै मरेपछि उहाँले नै मलाई विहे गर्न भन्नु भएको रहेछ,’ सोमतीले भनिन् ‘कामगर्न पनि सजिलो हुन्छ भन्ने सोच भएरपनि हुनुपर्छ।’ पति टुकलालले पत्निकै सल्लाह अनुसार आफुलाई फकाए पछि सौतामा आएको सोमतीले बताइन । उनका अनुसार पतिले आफुलाई पहिलो दिन घरमा ल्याउँदापनि चम्फी रिसाउनुको साटो खुसी बनेकी थिइन रे । विहेपछि सोमती जमिनदारको घरमा कम्लही बस्न छोडिन । उनकै पतिले कम्लहरी बस्न दिएनन् ।

पहिलाको जमानामा सबैले धेरै सञ्तान खोज्थे । सोमतिले भनिन् ‘जति ठूलो परिवार भयो त्यति नै काम गर्न सजिलो हुन्छ भन्ने सोच हुन्थ्यो।’ सोमतीका अनुसार सौताका बीचमा कहिलै नराम्रो भएन । बरु उनीहरु दिदी बहिनी जस्तै गरि मिलेर बसे । मध्यरातमा उठेर ढिकी जाँतो संगै गरे ।

सोमतिले भनिन् -‘दिदीको दाजुभाई थिइनन् । त्यसैले संगै मेरो माईती घर जान्थिम । उहाँ र एकदमै मिल्थिम।’आफुहरुको बीचमा रिसराग र झगडा कहिलै नभएको र आफ्नो माइतीमा पनि सौतालाई आफुलाई जस्तै समान व्यवहार गर्ने गरेको सोमतीले बताइन । ‘पतिको इच्छा अनुसार हुन्थ्यो,’सोमतीले भनिन् ‘हामी दुबैले कहिलै श्रीमानलाई म कहाँ आइज भनेर दबाब दिएनौं।’

उनका अनुसार कामपनि कहिलै बाँडफाँड भएन । सल्लाह गरेर काम गरेको उनले बताइन ।सोमतीवाट ७ सञ्तान भए । डिल्ली,महाविर र दीपक गरि तीन छोराहरु र भूपती, विजया,प्रर्मिला र शारदा गरि ४ छोरीहरु छन् । उनी भन्दा पहिलेकी चम्फीवाट दुर्गाबहादुर चौधरी र बोट्या चौधरी गरि दुई भाइबहिना छन् । प्रदेश नं. ५ का लेखासमितिका सभापति समेत रहेका डिल्लीबहादुर चौधरी बाहेक उनका सबै दाजुभाई अमेरीका छन् ।

दुर्गाबहादुर चौधरीको पनि नजिकै सटेको घर छ । उनी कृषि विकास बैंक तुलसीपुरका पूर्व प्रमुख हुन । अवकास जीवन व्यथित गरिरहेका छन् । विक्रम संवत २०४० साल भन्दा पहिलै चम्फीको इनामा पानी भर्दाभर्दै एकाएक मृत्यु भयो । त्यसपछि २०४१ सालतिर अर्नी खाएर बजार गएका उनका पति टुकलाल पनि एकाएक विरामी भए । छोराहरुले घोराही उपचारका लागि पुर्याए । तर उनी बाँचेनन् ।

घरको सम्पूणर् जिम्मा सोमतीको काँधमा आइपुग्यो । खेती किसानीको काम भ्याइ नभ्याई हुने । जेठो छोरा दुर्गाको विवाह गरेर बुहारी भित्र्याइन । अनि पहिला सौतासंग मिलेर गरेको जस्तै गरि सासु बुहारीले ढिकी जाँतो गरे । आफुले विद्यालयको मुख देख्न नपाएपनि छोरा छोरीलाई पढाउनु पर्छ भन्ने चेत सोमतीमा थियो । ऋण कर्ज गरेर पनि छोरा छोरी पढाइन । कति पटक उनले विद्यालयमा फी तिर्ने पैंशा माइती घरवाट ल्याएको बताइन । सानो छँदा प्रदेश सांसद डिल्ली र उनका भाई बहिनाले सानो छँदा सेन्टर माविमा पढे ।

उतिबेला त्यो विद्यालय ५ कक्षा सम्म मात्रै थियो । सोमतीका अनुसार सानो छँदा डिल्ली विद्यालय जान पटक्कै मान्दैन थिए । संधै उनी डिल्लीलाई पिठ्यूमा बोकेर सेन्टर स्कूलमा छोड्न पुग्ने परेको बताउँछिन् । ‘विद्यालय जान पटक्कै नमान्ने, विद्यालय पठाउन महाकठिन,’ सोमतीले भनिन् ‘ पिठ्यूमा बोकेपनि बाटै भरि रुँदै जान्थ्यो।’ कक्षा ५ उत्तिणर् पछि उनीहरु कपडादेवी स्थित महेन्द्रमाविमा पढ्न गए । त्यतिबेला उनीहरु बुझ्ने भइसकेको हुँदा त्यो समस्या रहेन । बाहिनी चोक, एसपी कार्यालय लगाएका स्थानमा उनीहरुको खेतवारी थियो । डिल्ली लगाएत उनका भाइ बहिना सबैले सानैदेखि खेत पातीको सबै काम गरे ।

पछि डिल्ली चौधरीले वेस नामक संस्था खोले । गाउँ गाउँमा रात्रि शिक्षा खोले । उनको ख्याती देशविदेशमा फैलियो । राजा विरेन्द्रदेखि अन्तराष्ट्रिय पुरुस्कार पनि जिते । पछिल्लो समय डिल्ली राजनीतिमा बढी सक्रिय छन् । सोमती छोरी प्रमिला संग आफ्नै पतिले निर्माण गरेको कच्ची घरमा बस्छिन् । छोरा डिल्ली र दुर्गाको पक्कि घरहरु नजिकै छन् । नवलपरासीमा विहे भएपनि छोरी प्रमिला र ज्वाँईलाई घरमै बसालेकी छन् ।

‘सबैसंग राम्रो सम्वन्ध छ । आउने जाने हुन्छ । कहिले काँही म पनि एक्लै हुँदा खाना खान जान्छु। तर, बास बस्न भने घर आइहाल्छु,’ सोमतीले भनिन् ‘मलाई बुढाले बनाएको यो माटोको घर छोड्न मन लाग्दैन।’ नेता भएपछि छोराको घरमा धेरै मानिसको आवात जावात गर्छन । त्यस्तो भिडभाडमा बस्नु भन्दा उनलाई पुरानै घरमा बस्न मन पर्छ रे ।सोमती विहे गरेर आउँदा टुकरामको बाँसका झिँझाले बेरेको,खरको छानो युक्त सानो छाप्रो मात्रै थियो । ढोका विनाका डरीले बारेका कुन्टी थिए रे । डरीहरुमा धान,मकै, गहुँ जस्ता अन्वाली भण्डारण गर्न प्रयोग हुन्थे । थारुका घरहरु उतिबेला प्राय सबै त्यस्तै हुन्थे ।

उनले सातै सञ्तानलाई त्यही घरमा जन्मदिइन । कति काम गर्दौगर्दै जन्मे । अस्पताल कहिलै जानु परेन । ‘अब त मानिसहरु अल्छि भए । काम नै गर्दैनन् । हिड्दै हिड्दैनन्,’ सोमतीले भनिन् ‘ त्यही भएर घरमा आफै बच्चा जन्माउन पनि सक्दैनन् ।’उतिबेला कपडा राख्नका लागि खरको छानोमा ढकिया,भौका झुन्ड्याएर राखेको सोमतिले बिर्सेकी छैनन् । भनिन् ‘खाना पकाउने माटाका हाँरी हुन्थे। ती हामी आफै बनाउँने गर्थिम। काठका डाडु पन्यू हुन्थे।’ती चिज बस्तु हराएकोमा उनलाई न निको लागेको छ । थारु अल्छि बन्दै गएको तथा सीप र कलापनि हराउँदै गएको प्रति उनले चिन्ता जाहेर गरिन ।

जे होस पहिले भन्दा अहिले धेरै सुख्खका दिन आए भन्ने सोमतीलाई लाग्छ । ‘अबका बुहारीलाई न मध्य रातमा उठेर ढिकी जाँतो गर्नु पर्छ । न पानी भर्न पँधेरो जानु पर्छ । न दाउरा लिन वन जंगल जानु पर्छ,’ सोमतीले भनिन् ‘पानीको धारो आँगनमा, ग्याँस घर भित्र र सबै सुविधा घर भित्रै छ।’

पहिलेको चलन नै फरक थियो । परम्परा अनुसार चल्नै पर्दथ्यो । विहे भएपछि सोमती खुट्टा खुराउन (ट्याटु हान्न) दोघरे गइन । पहिला थारु समुदायमा विवाह पछि खुट्टा खुराउनु अनिवार्य जस्तै थियो । सियोले गोभेर आकर्षक बुट्टाहरु खुट्टाहरु बनाइन्थ्यो । ‘खुट्टै भरि रगत आउँथ्यो, तैपनि सहनै पर्यो,’ सोमतीले भनिन् ‘खुरेपछि मेरो खुट्टा सुन्निएर हिड्नै नसक्ने भयो। तैपनि म हिडेर घर आए । त्यसको विकल्पपनि थिएन।’

विहेपछि सोमतीले लगाउने गहनापनि अलग थिए । कानमा सिकर्या झिमल्या, नाकमा नथिया, पाखुरामा टँर्या, नाडीमा चुरा र कोक्नी, खुट्टामा चुर्वा, पुईरी लगाउने प्रचलन थियो । ती चाँदी, सिलपट र काँसका हुन्थे । सोमती आजपनि आफ्नै जमानाको पुरानै थारु महिलाको भेष भुषा मन पराउँछिन । सेतो गुन्य लगाउँछिन् । बाँच्दासम्म यही लगाउने इच्छा उनले जाहेर गरिन ।

‘ समय अनुसार विकास हुनु राम्रो हो,’ सोमतीले भनिन् ‘पुरानो चालचलन नयाँ पुस्ताले भुल्दै जानु भने राम्रो होइन।’आफ्नो युवा अवस्थामा दशैं, माघी जस्ता चाड पर्वमा महिना डेढ महिना दिनसम्म नाच गान हुने गरेको भएपनि आज त्यो सबै लोप हुँदै गएको उनलाई पटक्कै मन परेको छैन । ‘पहिला थारु मौलिक गीत संगितमा नाच्थे,’ सोमतीले भनिन् ‘आज त अरुका गीत घन्काएर डान्स भन्दै उफ्रिन्छन्। पहिरण पनि फरक लाउँछन् ।’

विदेश भएका छोरा बुहारीले पनि उनलाई फोन गरि राख्छन् । अमेरीका बोलाउँछन् । आमालाई लैजान छोरा बुहारीले धेरै पटक प्रयास पनि गरे । तर दुतावासले उनलाई जाने अनुमति नै दिएको छैन रे । ‘एक पटक ठाउँ हेर्न जाने मन जागेको थियो,’ सोमतीले भनिन् ‘तर,अब मन मर्यो अब त जाँदिन जस्तो लाग्छ।’

तस्विर – राजेश खत्री ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *