दाङ,भदौ २४ । असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् ।व्यवसायीहरुले विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेको त्रिशिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । उनले मंगलवार नै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै विश्वकर्मा पूजाको दिनदेखि यातायातका साधन चलाउने घोषणा गरेका थिए ।
राजधानीमा बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा पनि सोही निर्णय भएको छ । सरकारले यातायात खुलाउन सहजीकरण नगरे भदौ १ गतेदेखि यातायात सञ्चालन गर्नुपर्ने राय व्यवसायी र मजदुर संगठनले गरेको हमालले फरककोणलाई बताए ।
सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेको भन्दै हमालले असुन्तुष्टि पनि पोखेका छन् । उनले के नीजि सवारी साधनले कोरोना भाइरसको संक्रमन सार्दैनन् ? भन्ने आशयको प्रश्नपनि गरेका छन् ।हमाल नेपाल राष्ट्रिय यातयात व्यवसायी महासंघका सल्लाहाकार पनि हुन । सरकारले यसअघि साउन १६ गतेबाट लामो दुरीका सवारी साधान समेत सञ्चालन गर्ने निर्णय गरेपनि पछि त्यो अवधि लम्बाएर भदौ मसान्तसम्म पुर्याएको थियो ।
नेपालमा गत चैत ११ गते लकडाउन सुरु भएसंगै लामो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । साउन ७ गते लकडाउन अन्त्य भएसंगै छोटा दुरीका सवारी साधन भने सञ्चालमा आएका थिए । तर फेरि संक्रमन ह्वात्तै बढेपछि त्यो पनि रोकिएको छ ।