असार २५ । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइनेछ ।चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।यस्तै ट्याक्सी पनि चलाउन दिने निर्णय भएको छ । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ ।
सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ ।सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताए । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।
हेर्नुहोस् मन्त्रिपरिषदको निर्णय