बुटवल, मंसिर ७ ।
नेपाल शिक्षक महासंघले शुक्रबार प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयमा चार घण्टा घेराउ गरेको छ । महासंघ प्रदेश नम्बर ५ को अगुवाईमा बुटवलमा नयाँ बसपार्कमा रहेको मन्त्रालय अगाडि चार घण्टा धर्ना दिएका हुन् ।
विभिन्न २६ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएको महासंघले शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन शुरु गरेको जानकारी दिएको छ ।
महासंघले राज्यले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, स्थानीय तहले बनाएको शिक्षा ऐन खारेज गर्नुपर्ने, शिक्षक काउन्सिलको व्यवस्था गर्नुपर्ने, शिक्षा सेवा आयोगलाई संवैधानिकस्तरको बनाउनुपर्ने, संवैधानिक शिक्षा आयोग गठन गर्नुपर्ने, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका सूचीमा राख्नुपर्नेलगायतका मागसहित महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको जानकारी दिएको छ ।
नेपाल शिक्षक महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम नारायण भण्डारीले महासंघले राखेका मागहरू पूरा गर्न सरकार अग्रसर नभएर मंसिर २१ गतेदेखि अनिश्चितकालिन हड्तालमा उत्रने चेतावनी दिएका छन् ।