गोविन्दप्रशाद रिजाल,घोराही, फागुन २ ।
न चाहेर हुन्छ, न कसैले मन पराएर हुन्छ
साँचो प्रेम त अनुभुतिमा पो आएर हुन्छ
जब नजिक हुन थाल्छन दुई आत्माहरू
पराईले पराईलाई, मुटुमा सजाएर हुन्छ ।।
न देउताको मन्दिरमा, कसम खाएर हुन्छ
न प्रणय दिवसमा केहि उपहार पाएर हुन्छ
प्रेममा हुँदैन कुनै, अपेक्षा, स्वार्थ र चाहना
सुख र दु:खमा, साथ साथ निभाएर हुन्छ ।।
खोई कसरी हुन्छ, प्रेम सजिलै बुझ्नै सकिन्न
न आवेग, तृष्णा र उत्तेजनामा, आएर हुन्छ
न चाहिन्छ आलिंगन, स्पर्श,चुम्बन वा अरू नै
न सधै तिम्रै हुँ म, भन्दै कसैले बहकाएर हुन्छ ।।
न रूप, गुण, जात, धर्म, दौलत खोज्छ प्रेमले
अदृश्य आकर्षणले, धड्कन बढाएर हुन्छ ।।
न चाहेर हुन्छ, न कसैले मन पराएर हुन्छ
साँचो प्रेम त, सधै अनुभूतिमा आएर हुन्छ ।।
(सन्दर्भ Valentine 2020.. )
प्रकाशित मिति : २०७६ फाल्गुन २ गते शुक्रवार