दाङ, माघ २८ । फागुन २ गतेदेखि दाङको घोराहीमा सञ्चालन हुने प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको पहिलो खेल बडहरा युवा क्लब र दंगाली युवा क्लबबीच हुने भएको छ । गोलाप्रथाबाट त्यसको छिनोफानो भएको हो । सबै क्लबका प्रतिनीधिको सहभागितामा मंगलवार गोला तानिएको थियो ।
गतबर्षको बिजेता बडहरा युवा क्लबले पहिलो खेलमा दंगाली युवा क्लबसंग प्रतिष्पर्धा गर्ने निश्चित भएपछि त्यो खेल निकै रोमाञ्चक र प्रतिपर्धात्मक हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको दोस्रो खेल सक्सेस क्लब र फुर्सेखाली एफए, तेस्रो खेल बुद्ध स्पोर्ट क्लब र दाङ युवा मञ्चबीच हुने भएको छ । त्यस्तै चौथो खेल रतनपुर ११ र न्यूटार क्लब, पाँचौँ खेल चौघेरा युवा क्लब र राप्ती क्लब अनि छैठौँ खेल घोराही एफसी र नवलपुर क्लकाबीचमा प्रतिष्पर्धा हुने भएको छ।
प्रतियोगिताको सातौँ खेल युएनबिसी र ड्रिमल्याण्ड एफएका बीचमा र आठौँ खेल मेगा क्लब र बबई एफसीबीच हुने टुङ्गो लागेको छ ।
नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि १५ गतेसम्म प्रतियोगिता घोराहीस्थित नवलपुर खेल मैदानमा हुँदै छ । यो बर्ष रेफ्रि संघको सिफारिसमा दुई खेलाडी प्रतिबन्धमा परेका छन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।