तुलसीपुर,माघ २७ । ईलाका प्रशासन कार्यालय तुलसीपुरले फागुनदेखि आफ्नै भवनवाट सेवा दिने भएको छ । तुलसीपुर उपमहानगरपािलका वडा नं. ९ दोघरेस्थ्ति प्रशासन कार्यालय ईलाका प्रहरी कार्यालयको दक्षिण तर्फ नव निर्मित ढाल तले आफ्नै भवनमा सर्न लागेको छ । यो संगै स्थानीय प्रशासनले अब भाडामा बस्नुपर्ने परिस्थितिको अन्त्य भएको छ । दोघरेमा मासिक १५ हजार भाडा तिरेर ईलाका प्रशासनले सेवा दिदै आएको थियो ।
कार्यालयले आफ्नै भवनमा सार्न (भोलि र पर्सी)माघ २८ र २९ गते कार्यलयको सेवा प्रवाह बन्द हुने कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले फरककोणलाई जानकारी दिए ।
कम्यूटर, फनिचर लगाएत अन्य भौतिक सामाग्री तथा सफ्टवयर समेतका सामाग्री नयाँ ठाउँमा स्थानरण गरि सेवा प्रवाह गर्न लागिएको हुँदा दुईदिने सवा प्रवाह रोकिने टण्डनले बताए ।
आफ्नै २ करोड ५८ लाख ९१ हजार १ सय ३० रुपैंया १४ पैंशामा ईलाका प्रशासनको भवन निर्माण भएको हो । भवन निर्माणको जिम्मा तुलसीपुरकै जुद्ध एण्ड पूर्ण निर्माण सेवाले लिएको थियो । २०७४ असार २५ गतेको सम्झौंतामा २०७६ असार मसान्तमा निर्माण पुरा गर्ने गरि उक्त निर्माण सेवाले काम सकारेको भएपनि ३ महिना म्याद थपेर गत असोज २० गते काम पुरा गरेको छ ।
प्रशासनको नयाँ भवनमा तल ७ र माथिल्लो तलामा ८ कोठाहरु रहेका छन् । सबैभन्दा माथिल्लो तला भने क्वाटरका लागि प्रयोग हुने छ । ७ हजार ५ सय २६ दशमलव ८५ स्क्वायर फिटमा फैलिएको जग्गामा ईलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माण गरिएको छ।
निमित्त प्रमुख टन्डनले सुविधा सम्पन्न भवनवाट सेवा प्रवाह गर्दा सजिलो हुनुका साथै सेवाग्राहीले पनि लाभ लिने आशा व्यक्त गरे । यद्यपी उनले नयाँ भवनमा पर्खाल, सेवाग्राही प्रतिक्षालय लगाएतका संरचनाहरु निर्माण गर्न बाँकी नै रहेको जानकारी दिए । यी संरचनाहरु निर्माण गर्न पछि छुट्टै टेन्डर आह्वान हुने उनले बताए ।
‘हामीले आफ्नै भवनवाट फागुन १ गतेदेखि सेवा सुरु गर्न लागेका छौं,’ निमित्त प्रमुख टन्डनले भने ‘सबै संरचना निर्माण पुरा भएपछि मात्रै हामी त्यसको उद्घाटन गर्ने छौं।’