तुलसीपुर, माघ २४ । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको शहिद स्मृति विद्यालयमा प्रतियोगिताको उद्घाटन गरेका हुन । यस्ता प्रतियोगिताले नयाँ प्रतिभावको जन्म हुने हुँदा त्यसको धेरै अर्थ रहने उनले बताए ।यस्ता प्रतियोगिताहरुले बालबालिकाको चौतर्फी विकाशमा अहम भूमिका खेल्न सघाउन पुग्ने विश्वास उनले व्यक्त गरे ।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका खेलकूदको शहरकारुपमा घोषणा मात्रै नभई कार्यान्वयनको चरणमा अघि बढेको हुँदा नेपालको एक स्पोर्ट सिटीको रुपमा विकाश हुने अपेक्षा गरे ।
कार्यक्रममा दाङ जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर डाँगी, तुलसीपुर नगर शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा, माध्यमिक विद्यालय सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम उद्घाटन सत्रमा सटपुट, एक सय र पन्ध्र सय मिटर दौड खेल भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा शहिद स्मृति आवासिय माध्यमिक विद्यालय तुलसीपुर १७ वनकट्टीको संयोजनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा ३० वटा सामुदायिक र संस्थागत विद्यालय कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्षसम्मका छात्र छात्राको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबडडी,रिले एक सय मिटर र चार सय मिटर, पन्ध्र सय मिटर हुने भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितिय स्थान हासिल गर्ने खेलाडीहरु जिल्लास्तरिय रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन पाउनेछन् । कार्यपालिका सदस्य अमर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले गरेका थिए ।