दाङ, मंसिर ३ । दाङ देउखुरी जिल्ला अदालतले सन्तोषकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सोमवार जिल्ला अदालतले त्यस्तो आदेश दिएको हो । अदालतको आदेश संगै संचारकर्मी गुप्तालाई सोमवारदेखि नै जिल्ला कारागार घोराहीमा राखिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।
राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोक निवासी संचारकर्मी समेत रहेका गुप्तालाई प्रहरीले कात्तिक २४ गते पक्राउ गरेर थुनामा राख्दै आएको थियो ।
गुप्तालाई राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख २९ हजार २ सय ४९ रुपैंया हिनामिना गरेको आरोप लागेको छ ।
कात्तिक १८ गते उक्त सहकारी संस्थाका अध्यक्ष टेकबहादुर कार्की, कोषाध्यक्ष रामप्रशाद चौधरी र सदस्य शिवहरी चौधरीले ईलाका प्रहरी कार्यालय भालुवाङमा गुप्तासहित तीन जना विरुद्ध रकम हिना मिना गरेको भन्दै जाहेरी दिएका थिए ।
गुप्ता उक्त सहकारी संस्थाका ऋण समितिका संयोजक हुन । त्यस्तै राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी तथा उक्त सहकारी संस्थाकी व्यवस्थापक रमिता चौधरी र उनका पति तथा संस्थाका पूर्व सचिव वशन्तकुमार चौधरीका विरुद्ध पनि रकम हिनामिना गरेको उजुरी परेको छ । तर चौधरी दम्पत्ति भने फरार छन् ।
चौधरी दम्पत्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । सहकारीको रकम हिनामिना गरेको अभियोग खेपेका संचारकर्मी गुप्ताका विरुद्ध बैंकिङ कुसुर सम्वन्धी मुद्दा चलाइएको प्रहरीले बताएको छ ।तर पत्रकार गुप्ता र उनका आफन्तले भने आफुलाई विनाकारण फसाउन तथा चरित्र हत्या गर्न षडेन्त्र भइरहेको बताउँदै आएका छन् ।