दाङ, पुस १४ । घोराही उपमहानगरपालिकाले नगरवासीवाट फोहोर खरिद गर्ने भएको छ ।
कपडा र पुनः प्रयोगमा आउने प्लाष्टिक जन्य फोहोरहरुलाई प्रतिकिलो ५ रुपैंया र पुनः प्रयोगमा नआउने बस्तुहरुलाई प्रतिकिलो ३ रुपैंयामा खरिद गर्न थालेको छ ।
यो निर्णय नगरको बाताबरण तथा विपद् व्यवस्थापन समिति अन्तरगतको सरसफाई स्वच्छता शाखाले गरिसकेको छ । उस्ले गल्ने र नगल्ने फोहोरहरुको बर्गिकरण गरेर खरिद गर्ने निर्णय गरिसकेको छ ।
त्यसका लागि प्रत्येक वडाका टोल विकास संस्थाहरुलाई नगल्ने फोहोरहरु निश्चित ठाउँमा संकलन गर्न घोराही उपमहानगरपालिकाले आग्रह गरिसकेको छ । जनतावाट संकलित फोहर घोराही उपमहानगरले खरिद गरेर विक्रि गर्ने योजना बनाएको छ ।
नगल्ने फोहोर खरिद गर्न घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षका लागि सात लाख रुपैंया बजेट विनियोजन गरेको छ । फोहोरबाट संकलित रकमलाई टोल विकास संस्थाहरुले पूर्ण सरसफाईको कार्यक्रम अन्तरगत साबुन, ब्रस, हरपिक खरिदमा लगाउने गरि नीति तय गरिएको छ ।
उपमहानगरले प्लाष्टिकका झोलालाई निरुत्साहित गर्न कागज र फाइबरका झोलालाई प्रोत्साहन गर्ने नीति अघि सारेको मेयर नरुलाल चौधरीले जानकारी दिए ।
चौधरीले गल्ने फोहोरबाट प्राङगारिक मल तयार पारेर बेच्ने र ल्याण्डफिल साईडमा शून्य फोहोरको अबस्था ल्याउने योजना सुनाए । फोहर बाट ग्यास उत्पादन गर्न घोराही १६ मा बायोग्यास प्लान्ट निर्माणको काम भइहरेको छ ।