
तस्बिर : निशा भण्डारी/सेतोपाटी
काठमाडौं, मंसिर २४। दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै सागको च्याम्पियन बनेको छ । नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।
कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए।
खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे। सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो।
तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। आज भएको खेलमा स्वर्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ।
साग फुटबल इतिहासमा पाकिस्तान र नेपालले चार–चार पटक उपाधि जितेका छन्।