दाङ,मंसिर ९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादले कालापानीमा गएर आत्मसर्पन गरेको बताएका छन् ।
दाङको दंगिशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा सोमवार नेपाली काँग्रेसको चुनावी सभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओलीले विगतमा राष्ट्रवादको नाराले चुनाव जितेको भएपनि आज आएर त्यो राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिनत भएको टिप्पनी गरे । ‘ओलीको राष्ट्रवाद आज कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ,त्यसैले ओली राष्ट्रवादीपनि होइनन्, यी सब जाल झेल मात्रै हुन,’ काँग्रेस सभापति देउवाले भने ‘ कालापानीमा ओलीको आत्मसर्मनवादले उनी राष्ट्रवादी हुँदै होइनन् भन्ने पुष्टि गरेको छ।’
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राष्ट्रवादको नाममा र जाती जनजातीको नाममा भोट लिएर आज जनताको अधिकार कुन्ठित पारेको देउवाले दाबी गरे ।
तर उनले नेपाली काँग्रेसले पार्टीको विधानमा ३३ प्रतिसत महिला आरक्षण दिएको, आदीवासी जनजातीहरुका लागि सहमहामन्त्री पद आरक्षण दिएको, थारु आयोग बनाएर थारुहरुलाई अधिकार दिएको, मधेसीलाई पनि आरक्षण दिएर ठूलो ठूलो पद दिएको बताए । उनले सहमहामन्त्री पद सानो पद नभएको जिकिर गरे । आफ्नो पार्टीले सबैलाई समेटेको भन्दै काँग्रेस सभापति देउवाले अरु पार्टीले त्यो सबै अधिकार नदिएको दाबी गरे । संविधान बनाउँदा खेरी नै काँग्रेसले महिला राष्ट्रपति वा उपराष्ट्रपति, सभामुख वा उपसभामुख मध्य महिला एउटा हुनै पर्ने बाध्यात्मक व्यवस्था गरेको देवाले बताए । नेपाली काँग्रेसलाई सबैलाई आरक्षण दिएर सबैको साझा पार्टी बनाएको उनले जिकिर गरे ।
त्यस्तै उनले कम्युनिष्टको सरकार बनेपछि सबैभन्दा बढी जनता करको मारमा परेको बताए । प्रधानमन्त्री ओलीको सरकारले हुँदा हुँदा गोलभेडा र अण्डामा समेत कर लगाएको तथा एक गाउँवाट अर्को गाउँमा जाँदा खेरी समेत कर लगाएर करको भार जनतालाई थोपरेको भन्दै आलोचना गरे ।
सरकारले उपभोक्ता समितिको नामवाट भ्रष्टचार र लुटतन्त्र मच्चाएको देउवाले आरोप लगाए । उनले अहिलको ओली सरकारको पालामा जस्तो यति ठूलो भ्रष्टचार विगतमा नेपालमा कहिलै नभएको दाबी गरे ।
अहिलको कम्युनिष्ट सरकारले २००७ साल क्रान्ति, २०४६ सालको आन्दोलन र २०६२÷०६३ को आन्दोलनवाट ल्याएको प्रजातान्त्रिक तथा गणतन्त्रत्मक हक अधिकार कुण्ठित पारेको दोषारोपन गरे । काँग्रेस सभापति देउवाले आम जनताहरुलाई तर्साएर,धम्काएर जनता र प्रजातन्त्रलाई कमजोर गर्न खोजिएको दाबी गरे । ‘जनता कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो, लोकतन्त्र कमजोर हुनु हो,’ देउवाले भने ‘ त्यो काँग्रेसलाई कदापी स्वीकार्य हुन सक्दैन ।’ प्रजातान्त्रिक अधिकार मध्यको एक प्रेस स्वतन्त्रतालाई हनन गर्न कम्युनष्टि सरकारले ठूला ठूला कारवाहीको कुरा गरेर तर्साउन खोजिएको भन्दै उनले रोष प्रकट गरे ।
राज्यले देखाएको डर त्रासले गर्दा कुनैपनि पत्रकारले स्वतन्त्र पूर्वक लेख्न सक्ने अवस्था नरहेको देउवाले बताए । त्यस्तै मानव अधिकार आयोग जस्तो संसार भरिको स्वतन्त्र आयोग भएपनि त्यसलाई पनि ओलीको सरकारले कुण्ठित गर्न खोजेको देउवाले बताए । सरकारले स्वतन्त्र न्यायालयमा समेत हस्तक्षप गर्न लागेको बताए । काँग्रेस सभापति देउवाले जुन देशमा स्वतनत्र न्यायालय हुँदैन त्यो देशमा प्रजातन्त्र हुनै नसक्ने हुँदा त्यही बुझेरै यो सरकारले स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाउन खोजिरहेको आरोप लगाए ।
सभापति देउवाले मंसिर १४ गतेको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय बनाउन आग्रह गर्दै त्यसले मात्रै कम्युनिष्टको त्रास अन्त्य हुने र लोकतन्त्रको रक्षा हुने दाबी गरे । दाङमा स्वर्गीय नेता खुमबहादुर खड्काले नै विकाशको जग हालेको भन्दै विकाशको लागि काँग्रेसलाई मतदान गर्न उनले अपिल गरे । आज कम्युनिष्टहरुले लाज नमानेर काँग्रेसले बनाएका बाटो र पुलहरु उद्घाटन गर्दै हिडेको देउवाले बताए । काँग्रेसले ल्याएको संसदीय व्यवस्थामा देश चलिरहेको हुँदा काँग्रेसलाई विश्वास गरेर मतदान गर्न उनले आग्रह गरे ।
त्यस्तै उनले आफुले हाललाई भनेर बुटवलमा कामचलाउको लागि अस्थायी राजधानी राखेको भएपनि दाङलाई राजधानी बनाउँछु भनेर मुख्य मन्त्री बनेकाहरुले राजधानी दाङमा सार्न किन नसकेको भन्दै प्रंश्न गरेका थिए । ‘दाङमा राजधानी बनाउँछु भनेर मुख्य मन्त्री भएको हैन, खैत ल्याएको,’ देउवाले प्रश्न गरे । महराले पनि दाङमा राजधानी ल्याउँछु भनेर भोट मागेको भएपनि उनीहरुले दाङलाई राजधानी नबनाएर जनता झुक्याउने खेल मात्रै गरेको दउवाले आरोप लगाए । ‘ खै मराले किन राजधानी दाङमा ल्याएन्, मुख्य मन्त्रीले किन राजधानी दाङमा ल्याएन,’ देउवाले दोह¥याएका थिए ।
कम्युनिष्टले भोटका लागि जनता झुक्याउने मात्रै गर्दै आएको भन्दै उनले विकाशमा पनि त्यस्तै गर्दै आएको दाबी गरे । ‘अब तपाँईहरुले भोट माग्न आउने कम्युनिष्टलाई हराउनुहोस, राजधानी किन ल्याएनौं भनेर सोध्नुहोस,’ काँग्रेस सभापति देउवाले भने ‘तपाँईहरुले कम्युनिष्टलाई हराउनु भयो भने मात्रै राजधानी दाङ ल्याउन बाध्य हुने छन्।’ कम्युनिष्टलाई यो उपनिर्वाचमा हराएपछि बाध्य भएर डराएर राजधानी दाङ ल्याउन उनीहरु बाध्यहुने देउवाको तर्क थियो ।
कार्यक्रमलाई बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, सहमहामन्त्री, प्रकाशशरण महत, पूर्व अर्थमन्त्री रामशरण महत, पूर्व महामन्त्री कृष्णप्रशाद सिटौला, काँग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, देवेन्द्रराज कँड्ेल,सीला खड्का, पूर्व मन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्य भरत शाह, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, उम्मेदवार केशव आचार्य, पूर्व सांसद गेहेन्द्र गिरी, पूर्व सांसद विमला नेपाली लगाएतले सम्वोधन गर्दै लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसलाई विजयी बनाउन अपिल गरेका थिए ।
नेपाली काँग्रेस दाङ निर्वाचन क्षेत्र नं. ३ (२)का सभापति खिमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रम दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्का स्वागत मनतब्यवाट सुरु भएको थियो भने सहजीकरण जिल्ला सचिव शंकर डाँगीले गरेका हुन । कार्यक्रममा विभिन्न व्यक्तिहरु नेकपा परित्याग गरि नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका थिए ।
सबै तस्बिरहरु : राजेश खत्री